anmol jasita

बक्सअफिसमा आक्रामक ‘सेन्टी भाइरस’, करोड माथिको ओपनिङ

बक्सअफिसमा आक्रामक ‘सेन्टी भाइरस’, करोड माथिको ओपनिङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सेन्टी भाइरस’ले बक्सअफिसमा आक्रामक व्यापारको सुरुवात गरेको छ ।

Friday audience

धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमाले शुक्रबार १ करोड १२ लाखको ग्रस कलेक्सन गर्यो । राजधानीबाट ५९ लाख ग्रस बटुलेको सिनेमालाई राजधानी बाहिरबाट ५३ लाखको योगदान रह्यो ।

असोजमा रिलिज ‘छ माया छपक्कै’ पछाडी कुनै पनि सिनेमाले पहिलो दिनको व्यापारमा करोड नाघ्न सकेका थिएनन् । ‘सेन्टी भाइरस’को आक्रामक व्यापारसँगै हलमा दर्शकको ठुलो भिड हेर्ने मौका मिल्यो ।

प्रदर्शनको दोस्रो दिन शनिबार सिनेमाको कलेक्सन झनै बढ्ने अनुमान गरिएको छ । पहिलो दिनको भन्दा दोस्रो दिनको व्यापार अझ उत्कृष्ट छ । शनिबार विहानदेखि बेलुकासम्मका शो हाउसफुल छन् । शुक्रबारको आक्रामक व्यापारलाई मध्येनजर गर्दै शनिबार अधिकाँस हलमा शो बढाइएको थियो ।

Saturday audience

यस्तै राजधानीका गुण, गोपीकृष्ण र अष्टनारायण लगायतका हलमा पनि दर्शकको भिड थामिनसक्नु थियो । राजधानी बाहिरका पोखरा, बुटवल, विर्तामोड, इटहरी, दमक, चितवन, नेपालगंज लगायतका ठुला स्टेशनमा पनि दुवै दिन सिनेमाको व्यापार राम्रो रहेको वितरकले बताएका छन् । शनिबार गोपीकृष्ण मुभिजमा सिनेमाले ११ शो पाएको थियो ।

सिनेमाले आक्रामक व्यापार गरेपछि धुर्मुस-सुन्तलीसहितको टिम दर्शक प्रतिक्रिया बटुल्न राजधानीका बिभिन्न हलमा पुगेको थियो । हल पुग्दा धुर्मुस-सुन्तलीको दर्शकले जयजयकार गरे । कलाकारलाई नजिकबाट हेर्न र सेल्फी खिच्न दर्शकको ठुलो भिड लागेको थियो ।

सिनेमाको व्यापारले दंग धुर्मुस-सुन्तलीले दर्शकलाई धन्यवाद दिए । ‘सिनेमाबाट मनोरंजन लिनुका साथै गौतम बुद्ध अन्तरराष्ट्रिय रंगशालाका निमित्त पनि सहयोग हुनेछ । दर्शकको माया लिएर नतमस्तक छौँ ।’ धुर्मुसले भने ।

यस्तै सुन्तलीले रंगशाला बनाउने अभियानमा दुई दिनमै यति धेरै मानिस जोडिएको भन्दै खुसि व्यक्त गरिन । ‘रंगशाला निर्माणमा तपाइँको पनि हात होस् भन्ने हिसावले ‘सेन्टी भाइरस’ निर्माण गरेका हौँ । दुई दिनमै लाखौँ नेपाली यस अभियानमा जोडिनु भएको छ । भोलिका दिनमा यो हातेमालो अझ ठुलो हुने आशा लिएका छौँ ।’ सुन्तलीले भनिन् ।

धुर्मुस-सुन्तलीसँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय रहेको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । यो वर्ष रिलिज रामबाबुको यो दोस्रो सिनेमा हो ।

अघिल्लो सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो । ‘सेन्टी भाइरस’को आक्रामक व्यापारले रामबाबुको सुचीमा अर्को हिट सिनेमा  थपिने  भएको  छ । आइतबारदेखिको व्यापार भने सिनेमाको ‘वर्ड अफ माउथ’मा भर पर्नेछ ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको ‘सेन्टी भाइरस’को मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्च गरिनेछ ।