रंगशाला निर्माणमा दर्शकको साथ, ‘सेन्टी भाइरस’ हेर्न हल नै बुक

रंगशाला निर्माणमा दर्शकको साथ, ‘सेन्टी भाइरस’ हेर्न हल नै बुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – धुर्मुस-सुन्तलीले निर्माण गरेको सिनेमा ‘सेन्टी भाइरस’ सफलताका साथ प्रदर्शन भैरहेको छ । प्रदर्शनको दुई दिनमै २.४७ लाख ग्रस बटुलेको सिनेमालाई दर्शकको उल्लेख्य साथ मिलिरहेको छ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि ‘सेन्टी भाइरस’को व्यापार राम्रो भैरहेको छ । मुनाफाको ५० प्रतिशत रकम रंगशाला निर्माणमा खर्चिने भएपछि दर्शकको ठुलो संख्याले सहयोगका निमित्त सिनेमा हेरिरहेका छन् ।

अहिले यस अभियानलाई सफल पार्न बिभिन्न विद्यालय, संघसंस्था र व्यक्ति विशेषले हल नै बुक गरेर ‘सेन्टी भाइरस’ हेरिरहेका छन् ।

विहिबार लागि राजधानीका मल्टीप्लेक्समा थुप्रै शो सोल्ड भैसकेका छन् । सिनेमाका कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले हल नै बुक गरेर सिनेमा हेर्ने दर्शकलाई धन्यवाद व्यक्त गरेका छन् ।

कसको बुकिङ कहाँ ?

जेम्स स्कुलले ललितपुरको लाबिम मलमा विहिबार विहान ९ बजेको दुई वटा शो किनिसकेको छ । यस्तै ओलम्पियन दीपक विष्टले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको निमित्त बानेश्वरको वान सिनेमाजमा विहिबार दिउँसो १२ बजेको शो किनेका छन् ।

जेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विहिबार कुमारी हलको साँझ ६ बजेको शो, न्यू जेनिथ स्कुलले छायाँ सेन्टरमा दिउँसो १२ बजेको तीन वटा शो, मिट लाईफ ईन्सुरेन्सले छायाँ सेन्टरकै ३ बजेको शो किनेका छन् ।

बुधबार भि.एस. निकेतन स्कुलले कुमारी हलमा १२ बजेको शो आफ्ना विद्यार्थीलाई देखाइसेको छ । सरोज सिटौलाले बसपार्कको आइएनआइ सिनेमाजमा दिउँसो १.३० बजेको शो किनेका थिए ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ ।