बक्सअफिस: नौं दिनमा ‘सेन्टी भाइरस’को व्यापार ४ करोड माथि

बक्सअफिस: नौं दिनमा ‘सेन्टी भाइरस’को व्यापार ४ करोड माथि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत शुक्रबार रिलिज भएको सिनेमा ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार सिनेमाका कलाकार सिताराम कट्टेल, बुद्दि तामाङ, निर्देशक रामबाबु गुरुङ, वितरक गोविन्द शाही, मनोज राठी र उज्ज्वल पौडेलले प्रेसमिट गरि सिनेमाको अहिलेसम्मको फिगर सार्वजनिक गरे ।

काठमाडौँ भ्यालीमा ‘सेन्टी भाइरस’ वितरण गरेका गोविन्द शाहीले ९ दिनसम्म सिनेमाले ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको बताए । यसमा काठमाडौँबाट २ करोड १० लाख ३ हजार र भ्याली बाहिर १ करोड ९० लाख ५ हजारको योगदान छ ।

कलेक्सन सार्वजनिक गरेपछि वितरक शाहीले भने ‘दशैँ यता हलमा नेपाली सिनेमाको व्यापार शुन्य जस्तै थियो । आशा गरिएका सिनेमाले पनि लगानी रिकभर गर्न नसक्दा चिन्ताको विषय बनेको थियो । ‘सेन्टी भाइरस’ले पुन: हलसम्म दर्शकको भिड जम्मा गर्यो । यसलाई सुपरहिटको व्यापार मान्दा हुन्छ ।’

सिनेमा सफल भएपछी कलाकार धुर्मुसले दर्शक तथा मिडियालाई धन्यवाद दिए । ‘प्रोडक्सन र पब्लिसिटीसहित सिनेमामा चानचुन २ करोड ८५ लाख लागत लागेको छ । यसमा बक्सअफिस बाहेक विदेश राइट्सबाट १ करोड १५ लाख आएको छ । भने, डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो । त्यसैले हामीले लगभग लगानी सुरक्षित गरिसकेका छौँ । बाँकीको व्यापार नाफाको हुनेछ ।’ धुर्मुसले भने ।

सिनेमाले लगानी उठाएर कमाएको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिदैछ । यसमा बक्सअफिसको मात्र नभएर सम्पूर्ण व्यापारको नाफा सामेल हुने कलाकार कट्टेलले प्रष्ट पारे ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा सिताराम कट्टेलसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतको मुख्य भूमिका छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित सिनेमामा डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोको लगानी छ ।

तस्विर: ज्ञानु राई