कोरोना भाइरसका कारण सर्यो हलिउडको प्रतिक्षित सिनेमा ‘नो टाइम टु डाइ’

कोरोना भाइरसका कारण सर्यो हलिउडको प्रतिक्षित सिनेमा ‘नो टाइम टु डाइ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउडको प्रतिक्षित सिनेमा जेम्स बोण्डको पछिल्लो सिरिज ‘नो टाइम टु डाइ’को प्रदर्शन मिति स्थगित भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण सिनेमाको प्रदर्शन मिति केही समयपछि सारिएको छ । अप्रिलमा रिलिज हुने भनिएको सिनेमा अब नोभेम्बरमा रिलिज गरिने बताइएको छ ।

पछिल्लो समय कोरोनाका कारण हलिउडसँगै बलिउड र चिनियाँ सिनेमा उद्योगहरुमा निकै ठुलो असर पर्ने देखिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्य नजर गर्दै सिनेमाको रिलिज डेट सार्ने निर्णय लिएको निर्माण टिमले जनाएको छ ।

अब सिनेमा ‘नो टाइम टु डाइ’ बेलायतमा १२ नोभेम्बर र अमेरिकामा २५ नोभेम्बरमा रिलिज हुनेछ । यसअघि सिनेमाको वर्ल्ड प्रिमियर ३१ मार्चमा लन्डनको रोयल अल्बर्ट हलमा हुने तय भएको थियो । कोरोनाले गर्दा उक्त कार्यक्रम पनि स्थगित गरिएको हलिउड मिडियाले जनाएका छन् ।

सिनेमा हलमा मानिसहरुको भिडभाडका कारण कोरोना फैलिने डरले सिनेमाको रिलिज डेट पर सारिएको बताइएको छ। यस सिनेमालाई माइकल जी विल्शन र बार्बारा ब्रोकोलीले निर्माण गरेका हुन् ।

जेम्स वोन्डको सिनेमाहरुले चिनियाँ सिनेमा बजारमा उत्कृष्ट कलेक्सन गर्दै आएका छन् । ‘नो टाइम टु डाइ’ले चीन प्रदर्शनको मिति तय गरिसकेको थियो । सिनेमा रिलिजका लागी मुख्य कलाकारको चीन भ्रमण र प्रचार प्रसारका कार्यक्रमहरु निर्माण टिमले फाइनल गरिसकेको थियो ।

चिनमा केही समय पहिले नै बन्द भएका सिनेमा हल कहिले पुनः सञ्चालनमा आउँछन्, निश्चित छैन । जसको प्रत्यक्ष असर हलिउडको प्रतिक्षित सिनेमा ‘नो टाइम टु डाइ’लाई पर्न गएको । अब चीनमा मात्र होइन प्राकृतिक विपत्तीका कारण विश्व सिनेमा बजार नै प्रभावित बन्दै गैरहेको छ ।