‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेनसँग दयाहाङको जोडी

‘२ नम्बरी’मा भुटानी अभिनेत्री उगेन छोदेनसँग दयाहाङको जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने नयाँ सिनेमा ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । यही सिनेमाबाट उनले नेपाली रजतपटमा डेव्यु गर्दैछिन् ।

फागुन २८ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको सिनेमाको बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले उगेन छोदेन सिनेमामा अनुबन्धित भएको जानकारी गराएको हो । निर्देशक लामाले सिनेमामा उनी भुटानी नागरिककै भूमिकामा रहने बताए ।

अभिनेत्री उगेनले नेपाली सिनेमामा अभिनय गर्ने अवसर पाउनु आफ्नो लागि सौभाग्यको कुरा रहेको सुनाइन् । भुटानमा विदेशी सिनेमा प्रतिबन्ध भए पनि यूट्युबमार्फत् नेपाली सिनेमा हेर्ने गरेको उगेन बताउँछिन् । उनले भुटानी लवजमा अगाडी भनिन्, ‘राजेश हमाल, पल शाह, दयाहाङ राईलगायतका कलाकारको भुटानमा ठूलो क्रेज छ । नेपाली सिनेमा भुटानी दर्शकले निकै मन पराउँछन ।’

उगेनले दयाहाङ अभिनित ‘कबड्डी’ हेरेपछि उनको फ्यान भएकी रहेछिन् । ‘दयाहाङ राई मेरो फेभरेट अभिनेता हुनुहुन्छ । उहाँले अभिनय गर्नुभएको प्रायः सबै सिनेमा हेरेकी छु । मलाई उहाँको ‘घामपानी र कबड्डी’ निकै मनपर्छ । अब उहाँसँगै स्क्रिन गर्ने अवसर पाउँदैछु । मैले उहाँबाट धेरै नयाँ कुरा सिक्ने अबसर पाउने भन्दै आफूलाई भाग्यमानी ठानेकी छु ।,’ उनने भनिन् ।

किरण नेपालीको प्रस्तुति रहने ‘२ नम्बरी’लाई सुशन प्रजापतिले खिच्नेछन्। रत्न श्रेष्ठको कार्यकारी निर्माण रहने सिनेमाका निर्मातामा रोहित कट्टेल र सरोज नेपाली छन् । रेड बर्ड प्रोडक्सन र आरआर फिल्मसको व्यानरमा निर्माण हुने सिनेमामा अमलादेवी राईको सह-लगानी रहनेछ । सिनेमालाई आगामी जनैपुर्णिमा रिलिज गरिनेछ ।