MYGG2 song: ‘तिम्रो घरको वरिपरि’लाई १० मिलियन भ्युज

MYGG2 song: ‘तिम्रो घरको वरिपरि’लाई १० मिलियन भ्युज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक सुदर्शन थापाका फेवरेट संगीतकार हुन्, अर्जुन पोखरेल । थापाले पछिल्ला सिनेमाको लागि अर्जुनको संगीतलाई नै बढी विश्वास गर्दै आएका छन् ।

‘प्रेमगीत’ यता अर्जुनले सुदर्शनका पाँच सिनेमामा लगातार संगीत भरेका छन् । र, नतिजा पनि सकारात्मक नै आइरहेको छ । यी दुईले पछिल्लो सहकार्य गरेको सिनेमा ‘म यस्तो गीत गाउँछु २’ हो ।

विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसका  कारण फागुन ३० मा रिलिज हुने भनिएको सिनेमाको रिलिज स्थगित भइसकेको छ ।

यसै बीच सिनेमामा समावेश ‘तिम्रो घरको वरिपरि’ बोलको गीतले युट्युबमा करोड ‘१० मिलियन’ भ्युजको माइलस्टोन पार गरेको छ । रिलिजको ठ्याक्कै तीन महिनामा गीतले यो सफलता हात पारेको हो ।

गीतमा अर्जुनको संगीतसँगै शब्द रचना पनि छ । पल शाह र पूजा शर्मा फिचर्ड गीतमा सोनम तोप्देन र अश्मिता अधिकारीको आवाज छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

करोड भ्युज पुग्दासम्म गीतले १ लाख ९७ हजार लाइक र १४ हजार बढी कमेन्ट पाएको छ । अधिकाँस कमेन्ट सकारात्मक छन् ।

सांगीतिक प्रेमकथामा निर्मित सिनेमामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकाय लगायतका कलाकारको अभिनय छ ।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको सिनेमामा शिवम अधिकारी/दिनेश न्यौपानेको पटकथा, सौरभ लामाको छायांकन र बनिष शाह/मिलन श्रेष्ठको सम्पादन छ ।