प्रेमी उदीपसँग अभिनेत्री आँचल शर्माले गरिन् विवाह

प्रेमी उदीपसँग अभिनेत्री आँचल शर्माले गरिन् विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् ।

विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राम मार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् ।

तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् । गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् ।

आँचल र उदीपले विवाहको रिसेप्सन पार्टीमा उपस्थितिका लागि सिनेमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । राजधानीको एक तारे होटेलमा आँचल र उदिपले विवाहभन्दा अगाडि संगीत र मेहेन्दीको कार्यक्रम समेत आयोजना गरेका थिए ।