सर्यो ‘लक्का जवान’, के होला ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’को रिलिज ?

सर्यो ‘लक्का जवान’, के होला ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’को रिलिज ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कोरोना भाइरस त्रासको कारण चैत २१ गते रिलिज हुने भनिएको सिनेमा ‘लक्का जवान’ पोस्टपोण्ड भएको छ । निर्माण पक्षले यो मितिमा सिनेमा रिलिज गर्न नसक्ने जानकारी दिएको हो ।

‘कोरोनाका कारण अहिले डरै डर छ । सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा अब सर्नुको विकल्प भएन ।’ डेब्यु निर्देशक शिवहरी पौड्यालले भने । उनले आगामी वर्षको भदौमा सिनेमाको रिलिजको लक्ष्य राखिएको पनि बताए ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको सिनेमामा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।

‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’को रिलिज के होला ?

चैत २८ मा रिलिज हुने ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ वर्षका अन्तिम सिनेमा हुन् । तर, कोरोनाको बढ्दो त्रासले यी दुईको सिनेमाको रिलिजमा पनि अन्यौलता छाएको छ । सरकारले सिनेमा हललाई कोरोना जोखिम क्षेत्र घोषणा गरेपनि अहिलेसम्म बन्द गर्ने निर्णयमा पुगेको छैन ।

कोरोनाकै कारण हलमा दर्शकको संख्या पनि न्यून छ । यदि नेपालमा कोरोना संक्रमितको संख्या देखिएमा सम्भवत: हल पनि बन्द हुनेछन । त्यसैले अहिले ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ युनिट पर्ख र हेरको अवस्थामा छन् ।

दुवै सिनेमा ट्रेलर रिलिजको संघारमा छन् । यदि सिनेमाको रिलिज स्थगित गर्नुपरेमा ट्रेलर रिलिज कार्यक्रम पनि तत्काललाई पछाडी धकेलिनेछ ।

‘प्रेमगीत ३’का निर्माता तथा निर्देशक सन्तोष सेनले सातासम्म कुर्न आग्रह गरेका छन् । भने, उता ‘चपली हाइट ३’ निर्माण पक्षको पनि यस्तै अवस्था छ ।