यस वर्ष सिनेमा रिलिजमा ४५ प्रतिशत गिरावट, यस्तो रह्यो साल २०७६

यस वर्ष सिनेमा रिलिजमा ४५ प्रतिशत गिरावट, यस्तो रह्यो साल २०७६

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अघिल्लो वर्ष सय सिनेमा प्रदर्शनमा आएका थिए । यो वर्ष सिनेमा रिलिजको अनुपातमा ४५ प्रतिशत गिरावट देखिएको छ । यस पटक मात्र ५५ सिनेमा रिलिज भएका छन् ।


बुधबार सरकारले बैशाख १८ सम्मलाई सम्पूर्ण हल बन्द गर्ने निर्णय गरेसँगै रिलिजको तयारी गरिरहेका सम्पूर्ण सिनेमा स्थगित भएका छन् ।

२०७५ को तुलनामा यस वर्ष कम सिनेमा रिलिज हुनुमा बिभिन्न तत्व कारण बने । सन् २०१९ को डिसेम्बरमा चिनको वुहानबाट फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’को असर सिनेमा रिलिजमा सर्वाधिक देखियो ।

गत वर्ष सफल सिनेमाको अनुपात ९ प्रतिशत आसपास देखिदा त्यसको प्रत्यक्ष असर निर्माणमा देखियो । सर्वाधिक छायांकन गरिने सिजन बसन्त ऋतुमै आधा दर्जन सिनेमा पनि फ्लोरमा नजाँदा यस वर्ष सिनेमा रिलिजमा गिरावट आउने अनुमान गरिएको थियो । भयो पनि त्यस्तै बैशाखदेखि नै अघिल्लो वर्षको जस्तो धेरै सिनेमा रिलिज भएनन् ।

यस वर्ष पहिलो त्रैमासिकमै सिनेमा रिलिजमा ४४ प्रतिशत गिरावट देखियो । यो अनुपातले सिनेमा क्षेत्रमा एक किसिमको तरंग नै पैदा गरेको थियो । बैशाखदेखि असार मसान्तसम्म अघिल्लो वर्ष २५ सिनेमा रिलिज भएका थिए । भने, यस वर्ष मात्र १४ रिलिज भए ।

लगातार सिनेमा असफल बनिरहेको अवस्थामा मेकरले नयाँ सिनेमा बनाउन आँट गरेनन् । बरु यो समयावधिमा रिलिज भएका ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ले बक्सअफिसमा राम्रो व्यापार गरेपछि सिनेमा रिलिजको संख्या बढ्न थाल्यो ।


यस्तै दोस्रो त्रैमासिकमा रिलिज सिनेमाको अंक केहि बढेपनि अघिल्लो वर्षको तुलनामा कमजोर नै देखियो । साउनदेखि असोजसम्मको अवधिमा ३१.०३ प्रतिशत कम सिनेमा रिलिज भए ।

कार्तिकदेखि पुषसम्मको अवधिमा पनि यस वर्ष कम सिनेमा रिलिज भए । यो अवधिमा २२.२२ प्रतिशत गिरावट देखियो । जाडोको सिजन र विदेशी सिनेमासँगको भिडन्तका कारण तेस्रो त्रैमासिकमा हलमा नेपाली सिनेमा मात्र होइन दर्शक संख्या पनि कमजोर देखियो ।

पुष महिनामा कुनै पनि सिनेमा रिलिज भएनन् । गत वर्षको पुषमा ५ सिनेमा रिलिज भएका थिए ।

वर्षको अन्तिम त्रैमासिकको सिनेमा रिलिजमा कोरोना भाइरसको असर उच्च देखिएको छ । अघिल्लो वर्षको तुलनामा अन्तिम तीनमा महिनामा ७५ प्रतिशत गिरावट देखिएको छ । गत वर्ष २८ सिनेमा रिलिज भएको समयावधिमा यस पटक ७ सिनेमा मात्र रिलिज भए ।

फागुन ९ गते रिलिज भएका ‘सेन्टी भाइरस’ र ‘आमा’ वर्षका अन्तिम सिनेमा बने । कोरोनाको जोखिमबाट बच्नलाई नेपाल सरकारले आगामी बैशाख १८ सम्म सम्पूर्ण हल बन्द गर्ने घोषणा गरेपछि चैत २८ मा रिलिज हुने भनिएका ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ स्वत: स्थगित भइसकेका छन् ।