२०७६ का नयाँ अभिनेत्री, यस्तो रह्यो डेब्यु

२०७६ का नयाँ अभिनेत्री, यस्तो रह्यो डेब्यु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २० दिनदेखिको देश लकडाउनले सबैलाई पिरोलेको छ । हुने खानेदेखि लिएर हुँदाखाने वर्ग सम्म लकडाउन समाप्तिको व्यग्र पर्खाइ छन । घरभित्र बसेर परिस्थितिको सामना गर्नुको विकल्प छैन । अहिले हामि फुर्सदमा छौँ । घर भित्रै बसौ कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौ,अरुलाई पनि बचाऔ ।

सिनेमा क्षेत्रसँग सम्बन्धित सम्पूर्ण काम ठप्प छन् । कोरोना भाइरस ‘कोभिड-१९’ महामारीले निम्त्याएको लकडाउनका बीच हामिले वर्षको दुखद अन्त्य गर्दैछौँ । २०७६ ले विदा माग्दै गर्दा एकपटक पछाडी फर्केर हेर्नैपर्ने हुन्छ ।

यसै त सिनेमा निर्माण/रिलिजमा गिरावट आएको वर्ष, त्यसैमा कोरोनाको महामारी । यी दुई तत्वले यो वर्ष नेपाली सिनेमाको बक्सअफिसमा नराम्रो असर पारे । त्यैपनि जसो तसो ५५ सिनेमा रिलिज भए । यो अंक अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशत कम हो ।

प्रदर्शनमा देखिएको कमिसँगै त्यसको प्रभाव नव-आगन्तुक कलाकारमा पनि देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष भित्रिएका नयाँ कलाकार संख्या निक्कै न्यून छ । आज हामि २०७६ मा डेब्यु गरेका अभिनेत्री चर्चा गर्नेछौँ । जसको डेब्युले दर्शकको ध्यान केन्द्रित गर्यो ।

सिर्जना रेग्मी

 

‘मिस नेपाल वर्ल्ड – २०१६’ को टप ५ सम्म पुगेकी सिर्जना रेग्मीले सिनेमा ‘जाइरा’बाट डेब्यु गरिन् । मोडलिङको दुनियाँमा सफलता चुमिसकेकी सिर्जनाको डेब्युले राम्रो चर्चा बटुल्यो ।

सिनेमामा नेगेटिभ भूमिका निर्वाह गरेकी सिर्जनाको अभिनय पनि रुचाइयो । उनले ‘बुलेट’ नामको भूमिका निर्वाह गरेकी थिइन् । जसमा उनको मिहेनत देखियो । तर, दुर्भाग्यबस सिनेमा बक्सअफिसमा फ्लप सावित भयो ।

डेब्युबाट सबैको ध्यान खिच्न सफल सिर्जनाले आगामी दिनमा अझ राम्रो काम दिन सक्ने आशा गर्न सकिन्छ ।

आशुतोषराज श्रेष्ठले निर्देशित सिनेमामा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरीलगायतले अभिनय गरेका थिए ।

निकिता चाण्डक

‘मिस नेपाल वर्ल्ड – २०१७’ निकिता चाण्डकले यो वर्ष सिनेमा ‘साङ्लो’ मार्फत डेब्यु गरिन । यसअघि नै सिनेमा ‘रानीमहल’मा जोडिएपनि, उक्त सिनेमाको छायांकन बीचमै रोकिदा निकिताको डेब्यु पछाडी धकेलियो ।

विराज भट्टको निर्माण, निर्देशन र अभिनय रहेको ‘साङ्लो’ मार्फत डेब्यु गर्दा निकिताको चर्चा चुलियो । सिनेमामा उनले विराजको प्रेमिकाको भूमिका निर्वाह गरेकी थिइन् ।सिनेमाको गजबको हाइप थियो।

निक्कै आशा गरिएको सिनेमाले निकितालाई खासै सफलता दिएन । उनको अभिनय र भूमिकाको पनि खास चर्चा भएन । सफल सिनेमा दिएर ड्रिम डेब्यु गर्ने निकिताको सपना साकार हुन् सकेन ।

रेविका गुरुङ

रेविका गरुङ दुई वर्ष अगाडी रिलिज भएको ‘लिलिबिली’बाट डेब्यु गर्दै थिइन् । तर, विदेश छायांकनमा निक्लिदा रेविकाको भिसा नलागेपछि सिनेमाबाट हात धुनुपर्यो । र, उनको सिल्भर स्क्रिनमा छाउने चाहना पछाडी धकेलियो ।

यसको दुई वर्षपछि निर्देशक नवल नेपालले ‘मारुनी’बाट उनलाई सिल्भर स्क्रिनमा भित्र्याए । भदौमा रिलिज भएको ‘मारुनी’बाट रेविकाको डेब्यु सकारात्मक हुने आशा थियो । तर, राम्रो हाइपका बीच सिनेमा बक्सअफिसमा जादु देखाउन सकेन  ।

रेविकाले सिनेमामा अभिनेता पुष्प खड्कासँग जोडी बाँधेकी थिइन् । तर, अभिनयबाट भने तारिफ बटुल्न सकिनन् ।

अल्लोना काबो लेप्चा

भारत कालिम्पोङकी नेपाली भाषी अल्लोना काबो लेप्चाले सिनेमा ‘आप्पा’बाट डेब्यु गरिन । उनले सिनेमामा अर्का डेब्यु कलाकार सिद्धान्तराज तामाङसँग जोडी बाँधेकी थिइन् ।

सिद्धान्तसँग अल्लोनाको केमेस्ट्री रुचाइयो । तर, सिनेमा नेपाली बक्सअफिसमा असफल बन्यो तर कालिम्पोङक सिक्किम तिर भने सिनेमा राम्रो चल्यो । अनमोल गुरुङले निर्देशन गरेको ‘आप्पा’मा अभिनेता दयाहाङ राईले मुख्य भूमिका निर्वाह गरेका थिए ।

रुबिना थापा

रुबिना थापाले सिनेमा ‘लभ डायरिज’बाट रजतपटमा पाइला टेकिन । ह्याण्डसम हंक सुशील श्रेष्ठसँग जोडी बाँधेकी रुबिनालाई डेब्युबाटै सफलता पाउने आशा थियो । तर, यो सिनेमा पनि बक्सअफिसमा असफल भयो ।

अभिनयमा खास्सै प्रशंसा नपाएपनि रुबिनाको सुन्दरताले भने चर्चा पायो । ‘लभ डायरिज’बाटै निर्देशक सौरभ चौधरी र कलाकार विश्वजित रिमालले पनि डेब्यु गरेका थिए ।

यस्तै यस वर्ष सिनेमा ‘घामड शेरे’बाट डेब्यु गरेकी शुष्मा निरौलाको अभिनयले दर्शक तथा समिक्षकको मन जित्यो । सिनेमामा उनले शिर्ष कलाकार निश्चल बस्नेतको पत्नीको भूमिका निर्वाह गरेकी थिइन् । सिनेमाको लिडमा भने स्वस्तिका खड्का थिइन् ।

‘१२ सत्ताइस’बाट अश्मिता लामिछाने, ‘मिस्टर नेपाली’बाट कुसुम राउत, ‘कप्स’बाट सन्दिपा लिम्बु, ‘कालो वर्ष’बाट अनुपा खड्का, ‘पासवर्ड’बाट परी राना र ‘बादशाह जुट’बाट डेब्यु गरेका रोशी खड्का र केइशा रावतले अन्य कलाकारको जस्तो चर्चा पाउन सकेनन् ।