anmol jasita

भुटानी अभिनेत्री फर्किन् चार्टर्ड फ्लाइटमा

भुटानी अभिनेत्री फर्किन् चार्टर्ड फ्लाइटमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ– भुटानी अभिनेत्री उगेन छोदेन चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएकी छिन् । उनी नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९:०० बजे विमान भुटानको पारो विमानस्थल फर्केको थियो ।
अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । उनी थिम्पुकै वासिन्दा हुन् ।
दीपेन्द्र लामाद्वारा निर्देशित र किरण नेपाली निर्माता रहेको फिल्म ‘२ नम्बरी’को गत चैत ८ गतेसम्म कास्कीको घाचोकमा छायांकन भएको थियो । निर्देशक लामाका अनुसार अझै ७५% छायांकन बाँकी छ ।
लकडाउन खुलेर स्थिति सामान्य भएपछि फिल्मको छायांकन अघि बढ्नेछ । उगेन पनि फिल्मको बाँकी छायांकन सिध्याउन भुटानबाट आउनेछिन् । फिल्ममा उगेनले दयाहाङ राईको जोडी भएर अभिनय गरेकी छिन् । आठवटा भुटानी फिल्ममा अभिनय गरिसकेकी उगेनको यो पहिलो नेपाली फिल्म हो ।
‘लामो समयपछि भुटान फर्किन पाउँदा खुसी छु, अब क्वारनटान अवधिभर फिल्महरु हेर्नेछु र केही किताब पढ्नेछु,’ उगेनले पारोस्थित होटेल ओलाथाङ पुगेर भनिन्, ‘अहिलेसम्म भुटानबाहिर सबैभन्दा लामो समय बिताएको यही नै हो । अब परिवारसँग समय बिताउँछु र कामना गर्छु, चाँडै नेपाल फर्केर काम सिध्याउन पाउँ ।’
लकडाउनको समय उगेनले काठमाडौंको एक होटेल र आफन्तको घरमा बिताएकी थिइन् ।
‘२ नम्बरी’मा अभिनय गर्नका लागि उगेनले कलाकार विजय बरालसँग विशेष प्रशिक्षण लिएकी थिइन् । पल शाह र वर्षा राउतको जोडीलाई पनि मुख्य भूमिकामा हेर्न पाइनेछ ।