२३ वर्षमा सुहाना थापा, पहिलो सिनेमाबाटै बनाइन राम्रो क्रेज

२३ वर्षमा सुहाना थापा, पहिलो सिनेमाबाटै बनाइन राम्रो क्रेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आजबाट अभिनेत्री सुहाना थापाले २३ औँ वर्ष प्रवेश गरेकी छन् । एक वर्ष अगाडी रिलिज सिनेमा ‘ए मेरो हजुर ३’बाट डेब्यु गरेकी सुहानाले राम्रो क्रेज बनाइसकेकी छन् ।

अब उनलाई अभिनेत्री/निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापाकी छोरी भनेर चिनाइरहनु पर्दैन । भगवान कृष्णकी भक्त सुहानाले पहिलो सिनेमाबाटै राम्रो छाप छोड्न सफल भइन । उनको अभिनयको प्रशंसा समिक्षकदेखि दर्शकसम्मले गर्न भ्याए ।

निर्देशक झरना छोरी सुहानालाई हिरोइन बनाउन चाहन्थिन । तर, यति छिट्टै डेब्यु गराउने सोच भने थिएन ।

अहिले ‘ए मेरो हजुर ४’मा व्यस्त रहेकी सुहाना सुपरस्टार अनमोल केसीसँग दोहर्याएर जोडी बाँध्ने एक मात्र अभिनेत्री हुन् । ‘ए मेरो हजुर ३’सहित अनमोलले आफ्ना ७ ओटा सिनेमामा नयाँ अभिनेत्रीसँग काम गरे । आठौँ सिनेमा ‘ए मेरो हजुर ४’मा भने सुहानासँग दोहर्याएर काम गर्न तयार भए ।

कोरोना भाइरस ‘कोभिड-१९’का कारण यो सिनेमाको छायांकन बीचमै रोकिएको छ ।

सुहानाको ड्रिम डेब्यु र करिअर

हरेक नयाँ कलाकार आफ्नो पहिलो सिनेमाबाटै राम्रो नोटिस हुन् चाहन्छन । त्यसैमा सिनेमा बक्सअफिसमा सुपरहिट भैदियो भने कलाकारलाई त्यो डेब्यु, सपना भन्दा कम लाग्दैन । सुहानाले पनि ‘ए मेरो हजुर ३’बाट ड्रिम डेब्यु गरिन ।

म्युजिकल हिट ‘ए मेरो हजुर ३’ २०७५ को सर्वाधिक व्यापार गर्ने सिनेमाको सुचीमा थियो । डेब्युमै उत्कृष्ट अभिनय गरेका कारण सुहानाले अवार्डमा पनि वर्चश्व जमाइन । त्यसैले त सुहानालाई ‘अपकमिङ सुपरस्टार’को रुपमा हेरिएको छ ।

घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।