डिसहोममा निर्मला पन्त बलात्कार-हत्याकाण्डमा आधारित ‘कोपिला’

डिसहोममा निर्मला पन्त बलात्कार-हत्याकाण्डमा आधारित ‘कोपिला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – महामारी कोभिड-१९ का कारण देश लकडाउन भैसकेको ५० दिन पुगिसकेको छ । तर, कोरोना त्रास छिट्टै नै हट्ने आशा गर्न सकिन्न । पछिल्लो १० दिनमा ७७ जना नयाँ संक्रमित थपिएपछि कोरोनाको जोखिम अझ बढेको छ ।

यस्तोमा सरकारले तत्काल लकडाउन नहटाउन सक्छ । यसले रिलिजको लागि तयार भएका सिनेमाको प्रदर्शनमा ठुलो क्षति पुर्याएको छ । कोरोना मत्थर हुने टुंगो नै नभएपछि विश्वभर सिनेमा रिलिजको नयाँ बाटो खोज्न थालिएको छ ।

बलिउडका लगायतका केहि सिने उद्योगले टेलिभिजन र इन्टरनेटबाट सिनेमा रिलिजको तयारी गरिरहेका छन् ।

यस्तैमा हलमा प्रदर्शन नभएरै सिनेमा ‘कोपिला’ आजबाट डिसहोम टेलिभिजनको च्यानल नम्बर १०८ मा रिलिज हुने भएको छ । यो सिनेमा दुई वर्ष अगाडी कन्चनपुरमा बलात्कारपछि मारिएकी १३ वर्षिया बालिका निर्मल पन्तको बलात्कार र हत्यामा आधारित छ । बैशाख ३० देखि सिनेमा दैनिक ८ शो प्रशारण हुनेछ ।

सिनेमाको प्रदर्शनबारे सन्चारकर्मी तथा निर्माता मणिराज गौतमले जानकारी दिए । ‘दर्शक माँझ सिनेमाको माग धेरै भएकाले उहाँहरुको सजिलोको लागि डिसहोममा रिलिज गर्न लागेका हौँ ।’

बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधि पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई उतारेको सिनेमालाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।

यसअघि हेटौडामा आयोजित विशेष शोबाट उठेको ५० हजार रकम स्वर्गीय पन्तको परिवारलाई सहयोग गरिएको थियो । साथै, सिनेमा प्रदर्शनबाट उठेको रकम मध्ये १० प्रतिशत पन्त परिवारलाई हस्तान्तरण पनि गरिने  निर्माण पक्षले बताएको छ ।

कलावती फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय छ ।

सिनेमामा दीपक शर्माको संगीत, बन्दे प्रसादको सम्पादन र रामेश्वर कार्कीको डिओपी छ ।

घरभित्रै बसौँ । कोरोना भाइरस सङ्क्रमणबाट आफु पनि बचौँ,अरुलाई पनि बचाऔँ ।