स्वस्तिमा खड्का – ‘जुन गीतमा हुन्छिन, त्यहि हिट’

स्वस्तिमा खड्का – ‘जुन गीतमा हुन्छिन, त्यहि हिट’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – स्वस्तिमा खड्का पछिल्लो समयको लोकप्रिय अभिनेत्री हुन् । ‘बुलबुल’बाट राष्ट्रिय अवार्ड जितिसकेकी स्वस्तिमाले २०७२ सालमा सिनेमा ‘होस्टेल रिटर्न्स’बाट डेब्यु गरेकी थिइन् ।

त्यसयता स्वस्तिमाको व्यस्तताको ग्राफ लगातार उकालो लागिरहेको छ । ५ वर्षको करिअरमा ८ सिनेमा गरिसकेकी स्वस्तिमाको सफलतामा गीतले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । स्वस्तिमाले ‘जुन गीतमा कम्मर मर्काउछिन, त्यो हुन्छ सुपरहिट ।’

Pictures: Swastima Khadka’s Facaebook

‘होस्टेल रिटर्न्स’ र ‘लभ लभ लभ’मा अभिनय गर्दासम्म खासै चर्चामा नआएकी स्वस्तिमालाई सिनेमा ‘दुई रुपैयाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ले रातारात स्टार बनाइदियो । युट्युबमा यो गीत नेपालकै सर्वाधिक भ्युज भएको भिडियो हो । ३ करोड जनसंख्या भएको देशमा १३ करोड १० लाख बढी पटक हेरिएको यो गीतको रेकर्ड नजिक कुनै पनि गीत पुगेका छैनन् ।

‘कुटुमा कुटु’ सफल भएपछि त स्वस्तिमाको पोल्टामा हिट गीतको चाङ नै लागेको छ । युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको सातौँ स्थानमा ‘साली मन पर्यो’ छ । सिनेमा ‘घामड शेरे’को यो गीतले ५ करोड ४८ लाख भ्युज पाएको छ ।

यस्तै ६ करोड १४ लाख भ्युज पाएको आधुनिक गीत ‘नाँच फिरिरी’ छैटौँ स्थानमा पर्न आउछ । ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ (४ करोड ७३ लाख भ्युज), ‘छक्का पन्जा २’को ‘ए दाजु नसमाउ’ (३ करोड १५ लाख भ्युज), ‘जय भोले’को ‘उम्लियो भने पोखिन्छ’ (२ करोड १६ लाख भ्युज), ‘बुलबुल’को ‘माया ओए ओए ओए’ (१ करोड ३० लाख भ्युज) र आधुनिक तर्फको ‘आँसुको अर्थ’ (१ करोड ८६ लाख भ्युज) स्वस्तिमाका करोड क्लबमा इन्ट्री गरेका हिट गीत हुन् ।

‘नाइँ नभन्नु ल ५’को ‘तिम्रो आँखामा आँखा जुधाई’ र ‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’ गीत करोड क्लबको नजिक पुगेका छन् । यी दुई गीतले क्रमस… ९५ र ९४ लाख भ्युज बटुलिसकेका छन् । स्वस्तिमाले नै कम्मर मर्काएको ‘मोटरसाइकलमा’ गीतले ७७ लाख भ्युज पाइसकेको छ । यो गीत सिनेमा ‘प्रेमगीत २’मा समावेश छ ।

सिनेमाका गीतमा मात्र होइन स्वस्तिमा आधुनिक गीतमा पनि लक्की मानिएकी छन् । एकाध म्युजिक भिडियो मात्र गर्ने स्वस्तिमाका आधुनिक तर्फ ‘नाँच फिरिरी’ र ‘आँसुको अर्थ’ सर्वाधिक सफल छन् ।

यस्तै ‘हनी बनी २’ले ८१ र ‘नरोउ तिमि’ले ७१ लाख भ्युज कमाएका छन् । पछिल्लो रिलिज ‘मायालु तिमि कता छौँ २’ले पनि एक सातामै ३७ लाख भ्युज बटुलिसकेको छ । यो गीत पनि छिट्टै करोड क्लब भ्युजमा समावेश हुने सम्भावना छ ।

नेपाली सिनेमा चल्नमा गीतको महत्वपूर्ण योगदान हुने गर्छ । त्यसैले प्राय: कलाकार आफ्नो भागमा हिट गीत परोस भन्ने चाहन्छन । हिट गीतले सिनेमा मात्र होइन कलाकारलाई पनि फाइदा पुर्याउँछ । स्वस्तिमालाई लक्की नै मान्नुपर्छ कि, छोटो करिअरमै ‘एक-से-एक’ हिट गीत उनको पोल्टामा परिरहेका छन् ।