एकपछि अर्को पंगा, निडर कंगना

एकपछि अर्को पंगा, निडर कंगना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – कंगना रनाउत बलिउडका अन्य अभिनेत्री भन्दा फरक छिन । निडर र हक्की स्वभावकी कंगना मनमा आएका कुरा धक नमानी सार्वजनिक रुपमा बोलिदिन्छिन । त्यसैले त उनि कन्ट्रोभर्सीमा पनि उतिकै तानिने गर्छिन ।


गत मार्चदेखि भारतका सम्पूर्ण हलहरु बन्द भएपछी सिनेमाको काम सामान्यीकरण भएको छैन । त्यसैले सिनेमाकै कारण चर्चामा आउने कलाकारहरु गुमनाम जस्तै छन् । तर, कंगना यो समयमा बिभिन्न विषयमा ‘पंगा’ लिन व्यस्त छिन ।

जुन १४ मा सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि कंगना आफ्नो अभिव्यक्तिका कारण लाइमलाइटमा छिन । सुरुवातमा सुशान्तको निधन पश्चात बलिउडमा फस्टाएको ‘नेपोटिज्म’को मुद्धा चर्काएकी कंगना अहिले महाराष्ट्र सरकारसँग जुहारी खेलिरहेकी छन् । त्यो पनि एक्लै ।

‘नेपोटिम्ज’को मुद्धामा बोल्दा कंगनाले बलिउडका सुपरस्टारहरुलाई पनि छोडिनन । उनले संजय दत्त, आलिया भट्ट, रनबिर कपूर, महेश भट्ट, आयुषमान खुराना, तापसी पन्नु, करण जोहरलगायतका बलिउडकर्मीहरुलाई कटघरामा उभ्याइन । उनलाई दर्शकहरुको साथ् थियो ।


निर्देशक करण जोहरलाई त कंगना आफ्नो सबैभन्दा ठुलो सत्रु मान्छिन । चाहे त्यो डेब्यु सिनेमा ‘ग्याङस्टर’बाट अवार्ड उचाल्दाको क्षण होस् या करणकै शो ‘कफी वीथ करण’मा पुग्दाको क्षण । कंगना सामुन्ने करणको अपमान गर्न पछि पर्दिनन् ।

‘कफी वीथ करण’मा करणले कंगनाको बायोपिकको बारेमा प्रश्न गर्दा उनले सिधै भनेकी थिइन्, ‘मेरो बायोपिक बन्यो भने त्यसमा करण जोहर भिलेन हुनेछ । जो ‘आउटसाइडर’को लागि असहिष्णु छ, उसले स्टारकिड’लाई मात्र मौका दिन्छ ।’ कंगनाले उक्त शोमा बोल्दा आफुले कहिल्यैपनि खानहरुसँग काम नगर्ने बताएकी थिइन् ।

‘खानहरुको सिनेमामा अभिनेत्रीलाई एकदमै कमजोर भूमिका र स्क्रिन स्पेस दिइन्छ । यदि उनिहरुको सिनेमामा मलाई पनि बराबरको भूमिका मिल्यो भने मैले सोच्न सक्छु ।’ उनले भनेकी थिइन् ।

यसपटक उनले सुरु गरेको ‘नेपोटिज्म’ मुद्धा यति प्रभावशाली भैदियो कि करण, अलियालगायतका केहि कलाकारहरुले आफुलाई सामाजिक संजालबाट टाढा राख्नु पर्यो । सुशान्तको निधनमा ‘नेपोटिज्म’को हात देख्ने दर्शकहरुले त ‘सडक २’ र ‘खालिपिली’ ट्रेलरलाई बहिस्कार गर्दै सर्वाधिक डिसलाइक पाउने ट्रेलर बनाइदिए ।


सुशान्तको न्यायका लागि लडीरहेकी कंगना पछिल्लो साता महाराष्ट्र सरकारसँग ‘पंगा’ लिइरहेकी छन् । सुशान्त आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै महाराष्ट्र सरकारको आलोचना गरिरहेकी कंगनासँग अब ड्रग्स एङ्गल जोडिएको छ । उनले यो सरकारको तुलना पाकिस्तानसँग गरेकी थिइन् ।

महाराष्ट्र सरकारमा रहेको सत्तारुढ पार्टी शिवसेनाले कंगनालाई मुम्बई नआउन धम्की दियो । कंगनालाई कुनै कुराको भय थिएन । र, उनले भनिदिइन, ‘म मुम्बई आउँनेछु । देशको लागि थुप्रै महिलाले ज्यान दिएका छन् । त्यसमा म पर्नु भनेको मेरो लागि गर्वको कुरा हो ।’

शिवसेना यति मै रोकिएन । अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले हरियाणास्थित गुरुग्रामस्थित सेक्टर ३७ पुलिस थानामा कंगनाविरुद्ध देशद्रोहको मुद्धा दर्ता गराए । शिवसेनाले पछिल्लो समय कंगनाको अफिसमा डोजर चलाएर आफ्नो कर्तुत देखायो । अहिले देशका बिभिन्न स्थानमा शिवसेनाको यस्तो कदम विरुद्द विरोध भइरहेका छन् ।

केन्द्रिय गृह मन्त्रालयबाट ‘वाई श्रेणी’को सुरक्षा कवच पाएकी कंगना मुम्बईस्थित भत्किएको अफिस हेर्न पुगिन । आफ्नो अफिस भत्काएपनि कंगना डराएकी छैनन । बरु महाराष्ट्र सरकार विरुद्द लगातार अभिव्यक्ति दिइरहेकी छन् । उनको सपोर्टमा कुनै पनि ठुला व्यक्तित्वको संलग्नता देखिएको छैन ।

कंगनालाई सडकमा ल्याउन महाराष्ट्र सरकारले उनको ड्रग्स एङ्गलको पनि जाँच सुरु गरिसकेको छ । आफुलाई ड्रग्स सेवनको आरोप लागेपछि कंगनाले खण्डन पनि गरिसकेकी छन् । ‘म ड्रग्स टेस्टको लागि तयार छु । यदि यो केसमा म गलत सावित भए भने कुनै पनि सजायको लागि तयार हुनेछु ।’

कलाकार सुमन अध्धयनले २०१६ मा दिएको एक अन्तर्वार्तामा कंगनाले पनि ड्रग्स सेवन गर्ने गरेको र आफुलाई पनि जबरजस्ती सेवन गराएको बताएका थिए । त्यसैको आधारमा महाराष्ट्र सरकारले कंगनाको ड्रग्स कनेक्सनमा जाँच सुरु गरेको हो ।

सुशान्त केसमा ड्रग्स कनेक्सन जोडिएपछि कंगनाले बलिउडमा ९९ प्रतिशतले ड्रग्स सेवन गर्ने बताएकी थिइन् । अब हेर्न बाँकी छ, ड्रग्स कनेक्सनमा कंगनाको रिपोर्ट के आउनेछ ?