सरकारको छायांकन अनुमति अगावै फ्लोरमा रहेका सिनेमा

सरकारको छायांकन अनुमति अगावै फ्लोरमा रहेका सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– विगत नौ महिना देखि कोरोना महामारीका कारण बन्द रहेको सिनेमा क्षेत्रलाई चलायमान बनाउन मंगलबार बसेको नेपाल सरकारको मन्त्री परिषद्को बैठकबाट सिनेमा छायांकन गर्न दिने निर्णय गरेको थियो । तर, स्थानिय तहको स्विकृतिमा विगत दुई तीन महिनादेखि सिनेमाको छायांकन भइरहेका थिए ।

कोरोना कहरले लकडाउन घोषणा भएसँगै छायांकनमा रहेका सिनेमाको काम बन्द भएका थिए । गत साउन महिना देखि म्युजिक भिडियो छायांकन हुन थाले पनि सिनेमा छायांकन भएको थिएन । लामो समयसम्म सरकारको अनुमति कुर्दा पनि सरकारबाट केहि निर्णय नभएपछि स्थानिय तहको स्विकृतिमा कार्तिकको पहिलो साताबाट झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ४’ र रेनाशा वान्तबा राई निर्देशित सिनेमा ‘आएम ट्वान्टी वान’ले छायांकन प्रारम्भ गरेका थिए ।

त्यसपछि सिनेमा क्षेत्रको चहलपहल बढ्नुको साथै हल सञ्चालन गर्नुपर्ने माग चर्काे रुपमा आएका थिए । तर, सरकारले कोरोनाको हस्टस्पट काठमाडौं लगायतका ठूला सहर रहेको भन्दै हल खोल्ने अनुमति दिएको छैन ।

पछिल्लो समय सिनेमा घोषणा देखि लिएर सिनेमाका गीत सार्वजनिक कार्यक्रम भइरहेका छन् । हाल ‘ए मेरो हजुर ४’ सँगै ‘परदेशी’ र ‘कृष्ण लिला’ छायांकनको अन्तिम चरणमा छन् । त्यस्तै, ‘आएम ट्वान्टी वान’को धरानमा धमाधम छायांकन भइरहेको छ ।