सरकारको हल खोल्ने निर्णय, कहिले रिलिज होला नयाँ सिनेमा ?

सरकारको हल खोल्ने निर्णय, कहिले रिलिज होला नयाँ सिनेमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– नेपाल सरकारले सिनेमा हल संचालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्री परिषदको बैंठकमा कोरोनाको मापदण्ड अपनाउदै हल खोल्न अनुमति दिएको हो ।

कोरोना महामारीको कारण ९ महिना देखि बन्द रहेको हल चलचित्र संघको स्वघोषित निर्णयमा पौष १० गते देखि संचालनमा आएका थिए । तर, हलमा नयाँ सिनेमा प्रर्दशन भएका छैनन् । यसैबीच शिव श्रेष्ठको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ले माघ १ लाई प्रदर्शन मिति तोकेको छ भने मुकुन्द भट्टको सिनेमा ‘लप्पन छप्पन २’ले फागुन २७ लाई प्रदर्शन मिति तय गरेको छ । वितरक मनोज राठीले तामिल सिनेमा ‘मास्टर’ प्रदर्शन गर्ने तयारी गरेका छन् । थलापथी विजय र विजय सेतुपति स्टारर सिनेमा विश्वभर माघ १ गतेबाट प्रदर्शन हुँदैछ ।

कोरोना महामारीका कारण हल बन्द हुनुभन्दा अगाडी ‘म यस्तो गीत गाउँछु २, प्रेम गीत ३, चपली हाईट ३, लक्का जवान, नीरफुल, हिजो आजका कुरा, सम्झना बिर्सना’ जस्ता सिनेमा प्रदर्शनको तयारीमा थिए । हाल सरकारले हल खोल्न अनुमति दिइसक्दा पनि ठूला ब्यानरका सिनेमाले प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् ।

वितरक करण श्रेष्ठले माघ १ गते नयाँ सिनेमा ‘मनसँग मन’को गीत रिलिज गर्दै नयाँ सिनेमाको क्रमश प्रदर्शन मिति घोषणा गर्दै जाने बताउँछन् । ‘चैतबाट अर्पण थापा अभिनित तथा निर्देशित सिनेमा ‘भूत घर’बाट नयाँ सिनेमा प्रदर्शनको सुरुवात गर्ने योजनामा छौं । यो सिनेमा पश्चात ‘मनसँग मन, तीन जन्तु, सुस्केरा, चिसो एस्ट्रे, आकाशे खेती, माइकल अधिकारी, म यस्तो गीत गाउँछु २ र चिसो मान्छे रिलिज हुनेछन्’ उनले भने ।

सरकारले लकडाउन घोषणा गर्नुभन्दा अगाडी नै ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन रोकिएको थियो । सिनेमाका निर्माता तथा निर्देशक सुदर्शन थापाले हालसम्म सिनेमा रिलिजको बारेमा नसोचेको बताए । ‘आइतबारबाट मात्रै सरकारले सिनेमा हल संचालनको अनुमति दिएको छ । अबको केहि दिनमा हल संचालक, वितरक र निर्मातासँगको सल्लाहमा रिलिज डेट घोषणा गर्नेछौं’ उनले भने ।

यस्तै, ‘प्रेम गीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन पनि सिनेमा रिलिजको विषयलाई लिएर अन्यौलमा रहेको बताउँछन् । ‘हाल मुम्बईमा प्रेम गीत ३ को पोस्ट प्रोडक्सनको अन्तिम चरणको काम भइरहेको छ । सिनेमाको सम्पूर्ण काम नसकिए सम्म रिलिजको बारेमा केहि सोच्दिन । सिनेमाको लागि ठूलो लगानी गरेकाले पनि कसरी राम्रो सिनेमा दर्शक माझ दिने तर्फ ध्यान केन्द्रित छ । यसैले पनि सिनेमा राम्रो बनाउन विगत १ महिना देखि मुम्बइ बसेर भिएफएक्स र ब्याक राउण्ड म्युजिकको काममा बलिउडको प्रसिद्ध कम्पनीसँग सहकार्य गरिरहेको छु । नेपाल आएपछि सिनेमा रिलिजको बारेमा सम्बन्धित संघ संस्थासँग सल्लाह गर्नेछु’ उनले भने ।

हाल ‘तिम्रो मेरो साथ, आएम् ट्वान्टी वान, परदेशी २, होल टाइमर, ए मेरो हजुर ४’ लगायत सिनेमा छायांकनमा छन् । भने, दीपक वलीको निर्देशनमा बनेको सिनेमा ‘कृष्णलीला’को हालै छायांकन सकिएको छ ।