सिक्वेल बनाउँदा व्यापारमा मात्रै सिमित हुन्छ : दिनेश राउत

सिक्वेल बनाउँदा व्यापारमा मात्रै सिमित हुन्छ : दिनेश राउत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पछिल्लो समय बक्स अफिसमा सुपरहिट सिनेमाको सिरिज र सिक्वेल निर्माण हुने क्रम निकै बढेको छ । फ्रेस सिनेमा निर्माण गर्दा जस्तो धेरै मिहेनत गर्नु नपर्ने र दर्शकको पनि राम्रो साथ पाउने हुँदा निर्माता तथा निर्देशक सिक्वेल र सिरिज निर्माण तर्फ आकर्षित छन् । तर निर्माता तथा निर्देशक दिनेश राउत यसको विपरित देखिएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित सिनेमा ‘प्रकाश’को निर्माण घोषणा कार्यक्रममा निर्देशक राउतले पैसाको लागि नयाँ कथामा पुरानो ब्रान्ड नबेच्ने बताए । ‘हामी अहिले एउटा सिनेमा व्यापारिक रुपमा सफल भयो भने त्यो ब्रान्डलाई लिएर पछाडि २, ३, ४ राखेर सिनेमा बनाईरहेका छौं । तर मेरो चाहना त्यस्तो छैन । किन भने त्यो व्यापारिक रुपमा मात्रै सिमित हुन्छ । सिनेमाले त्यो पछिको कथा मागेको छ कि छैन भन्ने कुरा सोच्नु पर्छ । म पहिलो सिनेमा हिट भएपछि २, ३ बनाउँदा हिट भइहाल्छ भनेर व्यापारिक हिसाबले मात्र सोच्दिन । आर्ट व्यापार हो तर व्यापार मात्र होइन’ उनले भने ।

‘नोभेम्बर रेन २ नाम राखेर कथा खोज्ने भन्दा कथा खोजिसकेपछि कथाले नाम माग गरिहाल्छ । अहिले नोभेम्बर रेन सिक्वेलको माग नभएकोले म निर्देशन गर्दिन ।’ त्यस्तै दिनेश राउतले निर्देशन गरेको सिनेमा ‘प्रसाद’को सिक्वेल बन्ने तयारीमा छ । तर राउतले यो सिनेमाबाट हात झिकेका छन् । प्रसादलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।