धमाधम प्रदर्शन मिति घोषणा गर्दै बलिउड, अन्यौलमा नेपाली सिनेमा

धमाधम प्रदर्शन मिति घोषणा गर्दै बलिउड, अन्यौलमा नेपाली सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीका कारण प्रर्दशन रोकिएका बलिउड सिनेमाले धमाधम प्रदर्शन मिति घोषणा गरिरहेका छन् । हरेक दिन जसो २ देखि ३ वटा सिनेमाको प्रदर्शन मिति घोषणा भइरहेको छ । तर, नेपाली सिनेमाका निर्माता निर्देशकहरु प्रदर्शन मिति घोषणा बारे पर्ख र हेरको अवस्थामा छन् ।

प्रदर्शनको पर्खाइमा रहेका ४० भन्दा बढि सिनेमा मध्ये हालसम्म आधा दर्जन सिनेमाले पनि प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् । पौष १० गतेबाट सिनेमा हल संचालनमा आएतापनि सरकारले अझै शतप्रतिशत अकुपेन्सी सहित हल खोल्ने अनुमति दिएको छैन । त्यसैले पनि निर्माता निर्देशक प्रदर्शनको तयारीमा रहेका सिनेमाको प्रदर्शन मिति घोषणा गर्न हच्किएका छन् । कतिपय निर्माता तथा निर्देशक बलिउडको ठूलो सिनेमा रिलिज भएर दर्शक हलसम्म आउने वातावरण भएपछि मात्रै सिनेमा रिलिज गर्ने मनस्थितिमा छन् ।

माघ १ गते नयाँ सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको थियो । भने आगामी फागुन २१ गतेबाट ‘गोर्खे’ प्रर्दशन हुँदैछ । चैत्र २७ गते नयाँ वर्षको अवसर पारेर ३ सिनेमा रिलिज हुँदैछन् । यो मितिमा सौगात मल्ल अभिनित ‘लप्पन छप्पन २’, पुष्प खड्का र वर्षा सिवाकोटी अभिनित सिनेमा ‘मनसँग मन’ र पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्ण लीला’ प्रदर्शन हुँदैछ ।

त्यस्तै, अर्का वर्षको भदौ ११ लाई दिपेन्द्र के खनाल निर्देशित सिनेमा ‘चिसो मान्छे’ र ‘सम्हालिन्छ कहिले मन’ले र दशैंमा प्रकाश सपुत, केकी अधिकारी र वर्षा सिवाकोटीको ‘परदेशी २’ ले आफ्नो प्रदर्शन मिति फाइनल गरेका छन् । यी बाहेक अन्य ठूला ब्यानरका सिनेमा ‘ए मेरो हजुर ४, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २, लक्का जवान, आएम् ट्वान्टी वान’ले प्रदर्शन मिति घोषणा गर्न सकेका छैनन् ।

यता बलिउडमा शतप्रतिश अकुपेन्सीमा सिनेमा रिलिज गर्न अनुमति दिएको लामो समयपछि यशराज फिल्मस्ले एक साथ पाँच सिनेमाको प्रदर्शन मिति घोषणा गरेको थियो । त्यस पश्चात एक पछि अर्का सिनेमाले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । हालसम्म दुई दर्जन बलिउड सिनेमाले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यशराज फिल्मस्ले मार्च १९ अर्थात चैत्र १६ गते ‘सन्दीप और पिंकी फरार’, अप्रिल २ अर्थात वैशाख १० गते ‘बन्टी और बब्ली २’, जुन २५ अर्थात असार ११ गते ‘शमशेरा’, अगस्ट २७ अर्थात भदौ ११ गते ‘जयेशभाइ जोरदार’ र नोभेम्बर ५ अर्थात कार्तिक १९ गते ‘पृथ्वीराज’को प्रदर्शन मिति घोषणा गरेको छ ।

अहिलेसम्म प्रदर्शन मिति घोषणा भएका बलिउड सिनेमा यस प्रकार छन् :-
मार्च ११ अर्थात फागुन २७ गते ‘रुही’
मार्च १२ अर्थात फागुन २८ गते ‘टाइम टु डान्स’
मार्च १९ अर्थात चैत्र ६ गते ‘मुम्बई सागा’
मार्च २२ अर्थात चैत्र ९ गते ‘नो मिन्स नो’
अप्रिल २ अर्थात चैत्र २० गते अक्षय कुमारको ‘सूर्यवंशी’
अप्रिल ३० अर्थात वैशाख १७ गते अमिताभ बच्चनको ‘चेहेरे’
मे १३ अर्थात वैशाख ३० गते सलमान खानको ‘राधे’ र जोन अब्राहमको ‘सत्यमे जयते २’
मे २८ अर्थात जेठ १४ गते अक्षय कुमारको ‘बेल बटम’
जुन ४ अर्थात जेठ २१ गते रणवीर सिंहको ‘८३’
जुन १८ अर्थात असार ४ गते अमिताभ बच्चनको ‘झुन्ड’
जुलाई २ असार १८ गते सिद्धार्थ मल्होत्राको ‘शेर शाह’‘मेजर’
जुलाई ९ अर्थात असार २५ गते आयुष्मान खुरानाको ‘चन्डीगढ करे आशिकी’‘चौध फेरे’
जुलाई १६ अर्थात श्रावण १ गते ‘केजीएफ च्याप्टर २’
जुलाई ३० श्रावण १५ गते प्रभासको ‘राधे श्याम’
अगष्ट ६ अर्थात श्रावण २२ गते अक्षय कुमारको ‘अतरंगी रे’
अगष्ट १३ अर्थात २९ गते जोन अब्राहमको ‘अट्याक‘ र अल्लु अर्जुनको ‘पुष्पा’
सेप्टेम्बर ९ अर्थात भदौ २४ गते विजय देवरकोन्डाको ‘लाइगर’
सेप्टेम्बर १० अर्थात भदौ २५ गते सैफ अली खानको ‘भूत पुलिस’
सेप्टेम्बर १७ अर्थात असोज १ गते आयुष्मान खुरानाको ‘अनेक’
अक्टोबर १ अर्थात असोज १५ गते कंगना रनावतको ‘धाकड’
अक्टोबर १३ असोज २७ गते राम चरण र जुनियर एनटीआरको ‘आरआरआर’
अक्टोबर १५ अर्थात असोज २९ गते अजय देवगनको ‘मैदान’
नोभेम्बर ५ कार्तिक १९ गते शाहिद कपूरको ‘जर्सी’
नोभेम्बर १९ अर्थात मंसिर ३ गते कार्तिक आर्यनको ‘भुल भुलैया २’
डिसेम्बर २५ अर्थात पुष १० गते आमिर खानको ‘लाल सिंह चढ्ढा’
डिसेम्बर ३१ अर्थात पुष १६ गते रणवीर सिंहको ‘सर्कस’
२०२२ जनावरी २६ अर्थात माघ १२ गते अक्षय कुमारको ‘बच्चन पाण्डे’
फेब्रुअरी ११ अर्थात माघ २८ गते ‘एक भिलेन रिटर्न्स’
अप्रिल १४ अर्थात वैशाख १ गते वरुण धवनको ‘भेडिया’
अप्रिल २९ अर्थात वैशाख १६ गते अजय देवगनका ‘मेडे’
सेप्टेम्बर ३० असोज १४ गते ऋतिक रोशन र दीपिका पादुकोणको ‘फाइटर’