सिनेमा क्षेत्रको राजनीति अगाडी देशको राजनीति फिक्का छ : भुवन चन्द

सिनेमा क्षेत्रको राजनीति अगाडी देशको राजनीति फिक्का छ : भुवन चन्द

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालकी पहिलो अभिनेत्री भुवन चन्दले आफुले सिनेमा क्षेत्रबाट पैसा नकमाएको बताइन् । सोमबार महिला दिवसको असवर पारेर चलचित्र विकास बोर्डमा आयोजना गरिएको कार्यक्रममा उनले सिनेमाबाट पैसा नकमाएको बताएकी हुन् ।

उनी अहिले पनि सिनेमा क्षेत्रमा सक्रिय नै छिन् । भुवनले पछिल्लो समय विशाल सापकोटाले निर्देशन गरेको सिनेमा ‘सेल्फी किंग’मा अभिनय गरेकी थिइन् । उनले आजसम्म सिनेमा क्षेत्रबाट खासै पैसा नकमाएपनि पहिलो अभिनेत्री भनेर परिचित हुन पाउँदा खुसी लाग्ने बताइन् ।

‘पहिला सिनेमा पनि खासै बन्दैन थियो । त्यतिबेला काम पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर सिनेमामा पैसा थिएन । अहिले हामीले काम गर्ने भनेको आमा र हजुरआमाको भुमिकामा हो । नायकको ५० लाख, नायिकाको २० लाख पारिश्रमिक हुँदा हामीलाई त ४०–५० हजार दिन पनि गाह्रो मान्छन् । हामीलाई दिने पारिश्रमिक बताउदा लाज लाग्छ । खास भन्ने हो भने त्यो पारिश्रमिक त मेरो मालीले लिन्छ’ उनले भनिन् ।

‘नायक नायिकाले पाउने भन्दा आमाबुबा, बाजे बज्यैले पाउने पारिश्रमिक कम होला । तर सिनेमा निर्माताहरुले अति गर्नुहुन्छ । अहिले मलाई दुई चार वटा सिनेमाको अफर आएको छ । तर मैले अहिले काम गर्दिन भनेको छु ।’

‘मसँग उड्ने बाहेक गुड्ने सबै छ । तर मैले सिनेमा क्षेत्रबाट कमाएको होइन । मेरो श्रीमानको सहयोगबाट कमाएको हो । सिनेमा क्षेत्रबाट पैसा नकमाए पनि म सिनेमाको पहिलो अभिनेत्री भनेर परिचित हुँदा खुसी छु ।’

भुवनले गत वर्ष आफ्नै प्रोडक्सन हाउस चन्द्रबिनायकबाट रमेश थापासँगको सहकार्यमा सिनेमा ‘साइनो’ बनाइन् । निर्माता भएपछि उनले सिनेमा क्षेत्रको वास्तविकता बुझेको बताउछिन् । ‘पहिला सिनेमा खेल्थे । त्यसैले पैसाको खेल बुझेको थिइन । निर्माता बनेपछि सिनेमा क्षेत्र बुझे । मेरो १ करोड लगानी डुब्यो तर मलाई दुख छैन किनकी मैले सिनेमा क्षेत्र बुझे । यस्तो नराम्रो इन्डस्ट्री रहेछ । सिनेमा क्षेत्रको राजनीतिका अगाडि देशमा भइरहेको राजनीति फिक्का छ ।’

उनले आफुले निर्माण गरेको पहिलो सिनेमा फ्लप भएपनि धेरै कुरा सिक्ने अवसर पाएको बताउदै दोस्रो सिनेमा निर्माण गर्ने तयारी भइरहेको बताइन् ।