महिला पात्रलाई हिरोको रुपमा देख्न चाहन्छु : रेखा थापा

महिला पात्रलाई हिरोको रुपमा देख्न चाहन्छु : रेखा थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापा पछिल्लो समय महिला प्रधान सिनेमा बनाइरहेकी छन् । सोमबार नारी दिवसको दिन चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रमा आफुलाई नारीवादको आरोप लाग्ने गरेको बताइन् ।

उनले महिला प्रधान सिनेमा निर्माण हुन नसकेको उल्लेख गर्दै भनिन्, ‘मैले सिनेमा क्षेत्रमा प्रवेश गर्दा पुरुष प्रधान नै थियो । पुरुष हावी हुने सिनेमाहरु बन्थे । महिला पात्र चै श्रृंगारिक रुपमा पुरुषको अगाडी पछाडी नाच्ने मात्रै भुमिका हुन्थ्यो । केहि व्यक्तिको मुखबाट नारी प्रधान सिनेमा पनि बन्थ्यो भन्ने सुनेको छु । तर मलाई कहिले पनि लागेन । नारीलाई उत्पीडनमा परेको देखाएर नारीलाई रुवाएर त्यो नारीको प्रतिनिधित्व गर्ने सिनेमा हुन सक्दैन ।’

‘बिस्तारै समय परिवर्तन भइरहेको थियो । युग परिवर्तन भइरहेको थियो तर हरेक युगमा महिलाहरु संर्घषरत मात्रै देखियो । आफ्नो अधिकारको लागि अरुले भन्दिनु पर्ने, म के चाहन्छु, मैले बोल्ने आवाज, मैले हेर्न दृष्ट्रिकोण र मैले सुन्ने चिजहरु पनि अरुले पारित गरिदिनु पर्ने प्रकारको समाजको संरचना थियो । मैले हिम्मत गरेर महिला दिदीबहिनीहरुलाई हिम्मत, उत्साह र प्रेरणा दिने खाल्को सिनेमा किन नबनाउने भन्ने हिसाबले महिलालाई केन्द्रमा राखेर उत्पीडन महिला नदेखाईकन एउटा हिम्मतवालीको कथा छाने । किनकी म त्यहि सोचबाट अगाडी बढिरहेकी महिला पात्र थिए ।’

‘म सिनेमा बनाउदा महिला पात्रलाई हिरोको रुपमा देख्न चाहन्छु । म हिरो भइरहदा हरेक क्षेत्रका महिलाले आफुलाई हिरोको रुपमा हेर्नसकुन । मैले सिनेमा निर्माण गर्दा कर्णालीका र मधेशका महिलाहरुलाई केन्द्रबिन्दुमा राख्छु । शहरका महिलाहरु त त्यसै शिक्षित छन् । सबैले महिला केन्द्रित सिनेमाको स्क्रिप्ट लेख्न सोच्नुपर्छ’ उनले भनिन् ।

रेखाले महिलालाई ३३ प्रतिशत कोटाको आवश्यकता नभएको तर्क राखिन् । उनले भनिन्, ‘३३ प्रतिशत दिएर हामीलाई सरकारले महिला नै बनाइरहेको छ । यदि समानता नै खोज्ने हो भने त कोटा किन जरुरी छ र ? खुल्ला प्रतिष्पर्धाबाट नै समान अधिकार दिन सकिन्छ नि ।’

उनले महिला कार्डको विरोध गर्दै भनिन्, ‘हामी सानो कुरामा पनि महिला कार्ड प्रयोग गर्छौ । म त महिला हुँ मलाई हप्यो भने कुरालाई छाडेर समानताको कुरा गर्छाै भने पुरुषसँग पनि बाज्न सिक्नुपर्छ । तर मैले आजसम्म महिला भएको अनुभुति गरेको छैन । तपाई महिला होइन, मान्छे बन्नुस् ।’

रेखाले महिलालाई हरेक क्षेत्रमा खासै विश्वास नगर्ने बताउदै भनिन्, ‘म पहिलो अभिनेत्री होला जसले सिनेमा निर्देशन पनि गरे । मैले सिनेमा निर्देशन गरिरहँदा पनि पत्याएनन् । पछि अरु दिदिहरुले पनि गर्दै गएपछि प्रमाणित भयो । अहिले पनि महिलालाई खासै विश्वास गरिदैन । तर यो दृष्ट्रिकोणलाई परिवर्तन गर्न समय लाग्छ ।’