काठमाडौंमा इन्ट्री गर्ने हरेक युवाको कथा ‘चिसो एष्ट्रे’ : दिव्य देव

काठमाडौंमा इन्ट्री गर्ने हरेक युवाको कथा ‘चिसो एष्ट्रे’ : दिव्य देव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिव्य देवको मुख्य भुमिका रहेको सिनेमा ‘चिसो एष्ट्रे’ आगामी शुक्रबार अर्थात चैत्र ४ मा प्रदर्शनमा आउँदैछ । गाउँबाट सहरमा आउने मानिसका सपना एस्ट्रेको चुरोटझैँ निभ्दै जाने विषयलाई सिनेमामा प्रस्तुत गरिएको छ ।

भूपि शेरचनले धेरै पहिला नै काठमाडौँलाई चिसो एस्ट्रे रुपमा चित्रित गर्दै यहाँ आउने मानिस मुटुभरि आगो र ओठभरि ज्वाला बोकेर आउने र जानेहरू निभेका विश्वास र सपनाहरू सोहोरेर जाने भाव व्यक्त गरेका थिए । निर्देशक दिनेश पाल्पालीले भूपिको यही भावमा रहेर सिनमा निर्माण गरेको बताएका छन् ।

२०७१ सालमै स्क्रिप्टलाई सिनेमामा उतार्ने तय भएको सिनेमा बल्ल प्रदर्शनमा आउदैछ । यहिँ सिनेमामा जोडीएपछि दिव्यले ’रुदाने’ को अफर समेत पाए । ’मैले यो सिनेमा पाएपछि आफुमा परिपक्वता पाए । मैले त्यसपछि छानेको सिनेमा र थियटरमा हुने प्लेले पनि मेरो करियरलाई उचाई दिन मदत गरेको छ’ दिव्यले भने ।

त्यसो त सिनेमामा ’इन’ हुन् उनलाई सहज थिएन् । उनले अडिसन त दिए नै निर्देशक पाल्पालीको विश्वास जित्न सहज भने भएन । ’म त्यो समयमा अहिले भन्दा पनि निकै पातलो थिए । त्यसैले गर्दा मैले पाएको क्यारेक्टरलाई न्याय गर्छु कि गर्दिन भन्नेमा निर्देशक केहि आशंकित थिए ।

दिव्यले त्यहिँ प्रोसेसले गर्दा सिनेमाको ’कास्टिङ’ निकै बलियो भने बताए । ’मैले मेरो साथी सर्कलमा सिनेमाको कास्टिङको तारिफ सुनेको छु । यो सिनेमा के कसो होला, तर हाम्रो सिनेमा क्षेत्रले एउटा प्रतिभाववान निर्देशक पाएको छ’ दिव्यले भने । उनले फिल्मलाई दर्शकसम्म ल्याउनु अगाडी खड्किएको हरेक पक्षमा सुधार गर्न खोजेको बताए ।

’हामीले स्वरांकन नै दुइ पटक गरेका छौँ । जुन जोशका साथ सिनेमा सुरु भएको थियो अहिलेसम्म पनि त्यहिँ उर्जा हामीमा छ’ उनले भने । सिनेमामा दिव्यसँगै सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ । सिनेमा निर्माता महेशबाबु तिमल्सिनाले भने आफूले नेपालमा हेर्न चाहेका सिनेमा निर्माण गर्ने अभिलाषामा सिनेमा निर्माणमा संलग्न भएको बताए ।

दिनेश पाल्पालीकै लेखन रहेको सिनेमामा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको सिनेमामा सह निर्माताको रुपमा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

निर्माणमा क्रिएटिभ ह्यान्डस् नेपालको पनि सहभागिता रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको सिनेमामा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । सिनेमा निकै राम्रो बनेकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास छ ।