anmol jasita

‘ए मेरो हजुर ४’ को बम्पर ओपनिङ, पहिलो दिन ८० लाख ग्रस कलेक्सन

‘ए मेरो हजुर ४’ को बम्पर ओपनिङ, पहिलो दिन ८० लाख ग्रस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १ गते नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर ४’ ले बम्पर ओपनिङ गरेको छ । वितरक गोविन्द शाहीका अनुसार सिनेमाले बिहिबार देशभरका हलबाट ८० लाख ग्रस कलेक्सन गरेको छ ।

देशभरका सिंगल तथा मल्टिप्लेक्स हलमा सिनेमाले बिहिबार विहानी शोबाटै हाउसफुल ब्यापार गरेको थियो । काठमाडौंमा फिल्मको व्यापार ४३ लाख रहेको शाहीले बताए । मोफसलमा पनि सिनेमा ३५ देखि ३६ लाखको हाराहारीमा व्यापार गरेको वितरक शाहीले बताए । यसमा काठमाडौंको रञ्जना र गोपिकृष्णको कलेक्शन जोडिएको छैन् ।

यस्तै, काठमाडौं बाहिरको पनि केही हलको रिपोर्ट नआइसकेको उनको भनाई छ । उनले भने-‘देशभर मल्टिप्लेक्स हल वृद्धि भएको कारण यो कलेक्सन गरेका हो । वितरक शाही अझै शो बढी पाएको भए सिनेमाले १ करोड भन्दा बढीको ग्रस कलेक्शन सहजै गर्ने बताउँछन् ।’

सिनेमाको शुक्रबारको व्यापार मध्यान्न १२ बजेपछि बढेको छ । बिहान शोमा औषत रहेको व्यापार १२ बजेपछि बढेको छ र बेलुकासम्म कतै सोल्ड आउट त कतै हाउसफुल हुने क्रममा रहेको हल सञ्चालकले जनकारी दिएका छन् ।शनिबार सिनेमाले बम्पर कारोबार गर्ने अनुमान गरिएको छ ।

झरना थापा निर्देशित सिनेमामा रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको सिनेमामा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्वर्गिय निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।