बिशेष शोमा सेलिब्रेटीले रुचाए ‘ए मेरो हजुर ४’

बिशेष शोमा सेलिब्रेटीले रुचाए ‘ए मेरो हजुर ४’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहिबार राजधानीमा ‘ए मेरो हजुर ४’को बिशेष शोको आयोजना गरिएको छ । दर्शक तथा सेलिब्रटीलाई एकसाथ देखाइएको सिनेमालाई सवैले रुचाएका छन् । क्युएफएक्स सिभिल मलमा आयोजना गरिएको बिशेष शोमा महानायक राजेश हमाल, अभिनेता भुवन केसी, शिव श्रेष्ठ, अभिनेत्री पुजा शर्मा, हास्यकलाकार जितु नेपाल, किरण केसी, शिवहरी पौड्याल लगायतले सिनेमा हेरेका थिए ।

सिनेमाको बिशेष शोमा सिनेमाका मुख्य अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा, निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापा पनि उपस्थित भएका थिए । सिनेमा हेरर निस्कँदै गर्दा महानायक हमालले सिनेमा उत्कृष्ट बनेको भन्दै अनमोल र सुहानाको अभिनयको तारिफ गरेका थिए । उनले निर्देशक झरना थापाले पनि प्राविधिक रुपमा निकै राम्रो काम गरेका बताए ।

पछिल्लो समय हेरेका अधिकांश सिनेमा प्राविधिक रुपमा अब्बल बन्न थालेकाले नेपाली सिनेमालाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । अनि एक्शन किंगको उपनामले चिनिने शिव श्रेष्ठले पनि ‘ए मेरो हजुर ४’ले आफुलाई रुवाएको बताए । सिनेमा निकै राम्रो बनेको रहेछ । म सिनेमा हेर्दा हेर्दै धेरै ठाउँमा भावुक बनेको उनले बताए ।

अर्का अभिनेता भुवन केसीले अनमोलको सिनेमा दोस्रो पटक हेरेको बताए । यसअघि हेर्दा सिनेमा निकै मन परेकाले बुधबार फेरी दोहोर्याएर हेरेको उल्लेख गरे । अनमोल आफ्नो छोरो मात्रै नभई निकै राम्रो अभिनेता समेत रहेको उनको बुझाई छ । उनले अगाडी भने- ‘अनमोलले हरेक सिनेमामा आफुलाई अपग्रेड समेत गरिरहेकाले अभिनयमा परिपक्कता देखिन थालेको बताए ।’

अभिनेत्री पुजा शर्माले पनि आफुलाई सिनेमा मन परेको बताइन् । उनले भनिन् – ‘झरना दिदिले मलाई प्रिमियरमा पनि बोलाउनु भएको थियो । त्यो बेला कार्य व्यस्तताको कारण उपस्थित हुन सेकेको भन्दै आफै टिकट काटेर नै सिनेमा हेर्ने तयारीमा आज फेरी बोलाएर सिनेमा हेर्ने मौका दिनु भो निकै खुशी लाग्यो । अहिले नेपाली सिनेमाका लागि विषम परिस्थिति सिर्जना भएको सिनेमाकर्मी एक हुनुपर्ने अवस्था सिर्जना भएकाले एकअर्कालाई सहयोग गर्न तयार रहनु पर्ने उनको तर्क थियो ।’

यस्तै, निर्देशक तथा अभिनेत्री झरना थापाले आफु र आफ्नो कामको सपोर्ट गर्न नेपाली सिनेमाका तीन खम्बा एउटै फेममा उभिदिनु भएकोमा धन्यवाद ज्ञापन गरिन् । अनि अनमोल र सुहानाले पनि आफुहरुलाई सपोर्ट गर्न आइदिनु भएकोमा खुशी व्यक्त गर्दै उहाँहरुले स्थापित गरेको लिगेसीलाई निरन्तरता दिने बताए । पहिलो पटक नेपाली सिनेमाका तीन लिजेण्ड अभिनेता ‘ए मेरो हजुर ४’ हेर्न एकसाथ सिनेमा हल पुगेका थिए ।

झरना थापा निर्देशित तेस्रो सिनेमा ‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारहरुको पनि अभिनय छ । सुनिल कुमार थापाले निर्माण गरेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

सिनेमाको कथा निर्देशक तथा अभिनेत्री झरना थापाले लेखेकी हुन् । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा र संवाद लेखनमा निर्देशक थापालाई स्व.निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।