‘षट्कोण’मा क्राइम रिपोर्टरको भुमिका चुनौती पुर्ण थियो : कार्म

‘षट्कोण’मा क्राइम रिपोर्टरको भुमिका चुनौती पुर्ण थियो : कार्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – थिएटरबाट नेपाली सिनेमामा प्रवेश गरेका अभिनेता हुन् कार्म । उनले थिएटरबाट सिनेमामा आउँदा आर्ट भन्दा पनि व्यापार हावी हुने बताए । केहीअघि राजधानीमा आयोजित ‘षट्कोण’को पत्रकार भेटघाट कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार भेटघाट कार्यक्रममा कुराकानी गर्दै थियटरको आर्ट सिनेमामा कमै मात्रामा देखिने उल्लेख गरे । ‘थियटरमा काम गर्दा हामी अट्याच हुन्छौँ । त्यहाँ स्टेज बनाउने देखि दुई वा तीन महिना वर्कसप हुन्छ । तर, सिनेमामा त्यसको कमै पाउने गरेको छु’ उनले भने । आफू थियटर झैँ सिनेमामा समय दिन तयार रहेको समेत उनले बताए ।

‘हामीलाई थियटरमा काम गर्दा आनन्द आउँछ त्यो सत्य हो । त्यहाँ सीमित स्रोत साधनमा त हामीले मेहनत गर्छौँ भने सिनेमामा नगर्ने कुरा नै छैन’ उनले भने । थियटरको एउटा प्लेमा गर्ने मेहनतमा सिनेमाको लागि कमै पाउने गरेको अनुभव उनले साटे ।

‘सिनेमा र मैले पाएको क्यारेक्टरलाई राम्रो हुन्छ भने म वर्कसपमै समय दिन तयार छु । तर, यहाँ त्यसो गरेको पाइदैन’ कार्मले भने । कार्म झैँ गुरुकुलबाटै थियटरमा उदाएका अर्का अभिनेता भोलाराज सापकोटाले पनि सिनेमामा अनुशासन कम भएको होकी ? भन्ने विचार राखे । ‘थियटरमा हामीलाई कडा अनुशासन हुन्छ । समयमा पुग्ने, एउटा डिपार्ट हेर्ने र आफ्नो अभिनय गर्ने’ भोलाले भने । कार्म झैँ भोलाले पनि सिनेमामा थियटरको जस्तो मेहनत गर्ने गरेको कमै पाएका रहेछन् ।

कार्म थियटरले आफूलाई छुटै महसुस गराउने बताउँछन् । ‘थियटरमा डिरेक्ट अडियन्ससँग जोडिने भएकाले पनि हुनसक्छ, त्यसको छुट्टै आनन्द छ । त्यहाँ काम गरेपछि पुनः केही सिकेको जस्तो अनुभूत हुन्छ’ उनले भने । उनले सिनेमामा पनि आफूले पाएको क्यारेक्टरलाई बलियो बनाउन प्रयास गर्ने गरेको बताए । उनले सिनेमामा अनुसन्धान गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

उनले यसको लागि एक पत्रकारसँग भेटघाट गरेका थिए । मैले एक जना अनुसन्धात्मक पत्रकारिता गरिरहेका व्यक्तिलाई भेटे । विश्वभर त्यसलाई लिएर प्रकाशित भएको लेख पढे । यसकै लागि माइन्ड हन्टर भन्ने सिनेमा पनि हेरे’ कार्मले भने । पत्रकार बन्न निकै चुनौती पुर्ण काम भएको पनि षट्कोणबाट बुझ्ने अवसर पाएको उनले सुनाए । उनले आफ्नो क्यारेक्टरका लागि सक्दो प्रयास गरेको बताए । भोलाले भने सिनेमामा घर कुरुवाको भूमिका निर्वाह गरेका छन् ।

उनले सानो देखि गाउँमा देख्ने गरेको क्यारेक्टरलाई नै आफूमा ढालेका हुन् । ‘यस किसिमको क्यारेक्टर गाउँमा प्रशस्तै देख्न पाइन्छ । त्यसैले गर्दा पनि मलाई क्यारेक्टरमा ढल्न सहज नै भयो’ भोलाले भने । सिनेमाका अर्का कलाकार लोकेन्द्र लेखकले पुलिस अफिसरको भूमिका निर्वाह गरेको बताए । आफुने आफ्नो भुमिकालाई न्याय दिने प्रयास गरेको लोकेन्द्रले बताए । सिनेमाले पत्रकार र प्रहरीबीचको सम्बन्ध र संघर्षलाई सिनेमा नजिकबाट नियाल्ने अवसर दिने पनि उनको विश्वास छ ।

निर्देशक मिलन डि काप्रिले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक सिनेमा निर्माण गर्ने प्रयास गरेको बताए । ‘सिनेमामा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । कथा अनुसार सिनेमालाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलनले भने । अनि सिनेमा विदेशी कुनैपनि सिनेमाबाट प्रभावित नभई विशुद्ध नेपाली कथामा बनेको दाबी समेत उनले गरे ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी बैशाख २३ गतेबाट नेपाल भरका सिनेमा घरमा रिलिज हुनेछ । कोरोना महामारी अगाडी नै निर्माण भएको सिनेमाको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

सिनेमामा कर्मा र भोलाराज सापकोटाका अलवा लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको सिनेमाको संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमामा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ ।