‘चिसो मान्छे’पछि अभिनयलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आयो : स्वस्तिमा खड्का

‘चिसो मान्छे’पछि अभिनयलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन आयो : स्वस्तिमा खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘चिसो मान्छे’ टिम अहिले प्रचार-प्रसारको दौडधुपमा व्यस्त छ । दीपेन्द्र के खनाल निर्देशित सिनेमा अहिले दर्शकको प्रतिक्षामा छ । सिनेमाको सार्वजनिक पोस्टर, टिजर र ट्रेलरले राम्रो हाइप बनाएको छ ।

वैदेशीक रोजगारीमा गएका नेपालीले ज्यान गुमाएपछि काठमाडौंबाट बाजुरासम्म शव लैजाने क्रममा भोग्ने विभिन्न घटनाक्रमलाई सिनेमामा प्रस्तुत गरिएको छ । निर्देशक खनालले ‘चिसो मान्छे’ आफूले गरेका सिनेमामध्ये विशेष रहेको बताए । ‘मेरा लागि यो सिनेमा अघिल्लाभन्दा विशेष छ । म मेरो ग्रोथ डाउन नहोस् भन्ने चाहन्छु,’ उनले भने, ‘कोभिडको समयमा हामी चिसा भएका थियौं । सिनेमाका पात्र पनि चिसा छन्, जसले आफ्नो लागि मात्र सोच्छन् ।’

काठमाडौंदेखि बाजुरासम्मको सबै छायांकन आउटडोर भएकाले पनि यात्रा रमाइलो भएको र आफूलाई एक्सप्लोर गर्न सजिलो भएको निर्देशक खनालले सुनाए । कतिपयले सिनेमाको सबै कथा ट्रेलरमा अटाएको भन्दै गुनासो गरेको बेला खनालले चाहिं सिनेमामेकर त्यति लाटो पनि नभएको दाबी गरे ।

निर्मात्री शर्मिला पाण्डेले आफूले निर्माण गरेको अघिल्लो हिट सिनेमा ‘आमा’भन्दा ‘चिसो मान्छे’ निकै उत्कृष्ट भएको बताइन् । आफूलाई स्वस्तिमा पात्रले रिलेट गरेको भन्दै उनले सेन्सर बोर्डबाट मिलेको प्रतिक्रियाले खुसी दिलाएको सुनाइन् । अभिनेता देशभक्त खनालले पहिलोपटक वर्षा हुँदा माटोबाट जुन गन्ध आउँछ त्यो गन्ध नै चिसो मान्छे भएको बताए ।

अभिनेता अर्पण थापाले काठमाडौंदेखि बाजुरासम्म पुग्दा दुईवटा गाडी कुदाएको स्मरण गरे । ‘अब त ट्रकको लाइसेन्स दिए पनि हुन्छ,’ उनले भने । यता सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई दुरुस्तै बाजुरेली युवतीको भूमिकामा ढालेकी छन् । भेषभूषा, भाषा र हुलियामा उनी सुदुरपश्चिमकी विवाहित किशोरीको चरित्रमा छिन् । यो चरित्रमा प्रस्तुत हुन आफूले गहन ढंगले मेहनत गरेको अनुभव स्वस्तिमाले सुनाइन् ।

बझाङ र बाजुराका डकुमेन्ट्री हेरेर आफूले भाषा सिकेकोदेखि आफूलाई मानसिक रुपमा उतारेको अनुभव उनको छ । सिनेमामा आफूले गरेको चरित्रमाथि कतिपयले नैतिक प्रश्न पनि गरेकाले त्यसलाई पात्रको पर्सपेक्टिभको रुपमा बुझ्न पनि आग्रह गरिन् ।

बाहिरबाट हेर्दा सुदुरपश्मिचेली दुःखी हुनेजस्तो देखिए पनि वास्तवमा उनीहरुले आफ्नो जीवनमा ‘इन्जोय’ गरेको स्वस्तिमाको बुझाइ छ । होस्टेल २ देखि ‘चिसो मान्छे’सम्म आइपुग्दा आफुले अभिनयलाई बुझ्ने दृष्टिकोणमा परिवर्तन भएको बताइन् ।