‘पानीफोटो’ले द्वन्द्व देश र समाजका लागि ठीक होइन भन्ने देखाउँछ : खगेन्द्र लामिछाने

‘पानीफोटो’ले द्वन्द्व देश र समाजका लागि ठीक होइन भन्ने देखाउँछ : खगेन्द्र लामिछाने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा क्षेत्रमा कोरोना महामारीपछि जनयुद्धको कथामाथि निर्माण भएका सिनेमा एकपछि अर्को गर्दै लगातार प्रदर्शनमा आइरहेका छन् । यही हप्ता प्रदर्शनमा आएको अनुप बराल निर्देशित सिनेमा ‘दोख’ सशस्त्र द्वन्द्वकालकै कथामा आधारित थियो ।

आगामी साउन १३ गते पनि सशस्त्र द्वन्द्वकालको पृष्ठभूमिमा निर्माण भएको सिनेमा ‘पानीफोटो’ प्रदर्शनमा आउने तयारीमा छ, त्यस्तै यो सिनेमा प्रदर्शन भएको ठिक एक महिनापछि प्रदीप खड्का अभिनित ‘प्रकाश’ पनि प्रदर्शनमा आउँदै छ । सिनेमाको सार्वजनिक गीत संगीत र टिजरले सशस्त्र जनयुद्ध लडेका बाबुको छोराले सरकारी स्कुलको शिक्षक बन्न गरेको संघर्ष देखाउन खोजिएको छ ।

‘पानीफोटो’लाई अभिनेता खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशकिय सिनेमा हो । ‘पानीफोटो’ नाममा करीब डेढ दशक अगाडि गुरुकुलमा नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले सिनेमा निर्माण गरेका छन् । सिनेमाले सशस्त्र द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा भन्छ । मंगलवार सिनेमाको ट्रेलर सार्वजनिक गरियो ।

सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारले निर्देशक खगेन्द्रलाई एकपछि अर्को द्धन्द्वकालको कथामा निर्माण भैरहेका सिनेमा रिलिज भैरहदा बक्अफिसमा असर गर्ला नी ? भनेर प्रश्न गरेका थिए । जवाफमा उनले अरु कथा नपाएर द्वन्द्वकालको कथामा सिनेमा निर्माण नगरेको स्पष्टिकरण दिए । उनले भने- ‘द्वन्द्वकालकै कथा भन्नु अरु कथा नभएर होइन । एउटा कालखण्डमा जनयुद्धले हामीलाई, देश र हाम्रो समाजलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा असर पारेको छ । जनयुद्धले हजारौं कथाहरु जन्माएर गएको छ । अनि, हाम्रो त्यो कथाहरुलाई हामीले नभने कसले भन्ने ?’

द्वन्द्व देश र समाजका लागि ठीक होइन भन्ने झकझकाउनका लागि पनि द्वन्द्वको कथा भन्नुपर्ने खगेन्द्रको तर्क छ । उनी अगाडि भन्छन्, ‘जनयुद्धको समयमा हजारौं मानिसको मृत्यु भयो, हजारौं बेपत्ता भए । यो कुराले अहिले पनि हामीलाई नरमाइलो लाग्छ । हो, यस्तो कथाले त्यो चिजलाई सम्झाइरहनु पर्छ । ताकि, युद्ध भनेको ठीक होइन र त्यसमा जानु हुँदैन भनेर झकझकाओस् ।’

यस्तै सिनेमा ‘पानीफोटो’मा खगेन्द्रले आफ्नो गुरु अनुप बराललाई निर्देशन गरेका छन् । गुरुलाई निर्देशन गर्दाको अनुभव साट्दै उनी भन्छन्, ‘छायांकनमा अनुप दाईले कहिल्यै ‘म तेरो गुरु हो’ भन्ने भावना देखाउनुभएन । त्यसैले काम गर्ने क्रममा कुनै समस्या भएन । अरु बेला हामीबीच गुरु-चेलाको सम्बन्ध भएपनि सेटमा म निर्देशक र दाई कलाकार हो । हामीले त्यो अनुशासनमा बसेर काम र्गयौं ।’

‘पानीफोटोको कथा आफुले भै भन्नु पर्छ भन्ने लागेकाले सिनेमाको व्यपारमा नाफा घाटाको डर छैन् । मलाई जहिल्यै पनि पानीफाटोलाई ठुलो माससम्म लैजानु पर्छ भन्ने लाग्थ्यो । त्यसैले पनि मैले यो ककथालाई नाटक, किताब हुँदै सिनेमासम्म पुर्याएर, आफैले निर्देशन गर्ने हिम्मत गरेको हुँ । यसपछि अर्को सिनेमा मैले निर्देशन गर्छु कि गर्दैन् म आफैलाई थाहा छैन्’, उनले भने ।