‘प्रकाश’ पुर्ण रुपमा कमर्शियल सिनेमा हो : प्रदीप खड्का

‘प्रकाश’ पुर्ण रुपमा कमर्शियल सिनेमा हो : प्रदीप खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता प्रदीप खड्का अभिनित सिनेमा ‘प्रकाश’ आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ । सिनेमा ‘प्रकाश’मा प्रदीप भिन्न चरित्रमा प्रस्तुत छन् । उनी आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निस्किएका छन् । ‘प्रकाश’मा न उनको हिरोइज्म देखिनेछ न चकलेटी अवतार ।

जुम्लाको एक विपन्न युवकको भूमिकामा अभिनय गरेका उनले चरित्रलाई आत्मसात् गर्न खाली खुट्टा काठमाडौंको गल्ली हिँडे । तौल घटाए । अनुप बरालबाट अभिनय सिके । सुटिङको क्रममा चरित्रको माग बमोजिम हलो समेत जोते । उनी सिनेमा र चरित्रप्रति कति गम्भीर थिए भन्ने यी कुराबाट प्रस्टिन्छ ।

‘प्रकाश’को आइडिया सुनेर काम गर्न तयार भएका प्रदीप स्क्रिप्ट पढेपछि भने काम गर्न सकिन्न कि भन्ने सोचमा पुगेका थिए । शुक्रवार चितवनमा पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले भने- ‘पहिला आइडिया हेर्दा मनर्पयो र गर्छु भनेँ तर, स्क्रिप्ट पढेपछि जुम्लाको भाषा बोल्नुपर्ने, जुम्लाको जस्तो क्यारेक्टर हुनुपर्ने भएकाले मैले सकिनँ भने के हुन्छ भनेर निर्देशकसँग कुरा गरेको थिएँ ।’

आफूलाई फेल हुन डर नभएपनि सोचे जस्तो काम गर्न नसके निर्देशक, निर्माता र लेखकको सोच नै डुब्ने भएकाले ‘काम नगरुँ कि’ भनेर निर्देशक दिनेश राउतसँग सल्लाह गरेको उनले सम्झिए । तर, आफूमाथि निर्देशकको कन्फिडेन्टले काम गर्न हिम्मत आएको प्रदीपको भनाई छ । उनी ‘प्रकाश’मा आफू काम गर्न राजी हुनुको ठूलो कारण निर्देशकले गरेको विश्वासलाई मान्छन् ।

उनी अगाडि भन्छन्, ‘मैले छोड्दा सन्देश राम्रो जाँदैन भने ‘प्रदीपलाई सुहाउने क्यारेक्टर नभएकाले निकालेर अर्को क्यारेक्टर लियौं’ भन्दा पनि मलाई समस्या छैन भनेर निर्देशकलाई भनेको थिएँ । तर, ममाथि सबैभन्दा बढी कन्फिडेन्ट दिनेश दाई हुनुहुन्थ्यो । उहाँले तिमीले सक्छौं बरु आफूलाई निखार्न अनुप बराल सरसँग क्लास लिऊ भनेपछि मलाई सिनेमामा काम गर्न हिम्मत र जोश आयो ।’

प्रदीपलाई ‘प्रकाश’को वानलाइन स्टोरी नै एकदमै मन परेको रहेछ । तर, त्यसबेलासम्म कथा कस्तो बन्छ र क्यारेक्टर के हो भन्ने केही टुंगो थिएन । तर, लेखकले सुनाएको कथाले उनलाई नेपालको भविष्य आँखा अगाडि देखेको महशुस भयो । नेपालको अहिलेको व्यवस्थाले भविष्यमा समस्या ल्याउन सक्छ भन्ने कुरा सिनेमाले देखाउँदैछ भने आफूले काम गर्नुपर्छ भन्ने लागेको उनी सम्झन्छन् ।

‘एउटा साहित्यकारले कुनै जमानामा लेखेको चिज आज सार्थक भइरहेको छ भने कला क्षेत्रमा काम गर्ने व्यक्तिको हैसियतले मैले गर्ने चिजले भविष्य देखाइरहँदा त्योभन्दा गतिलो चिज केही हुन सक्छ जस्तो लागेन,’ प्रदीपले अगाडि भने, ‘मैले गर्ने सिनेमाले नेपालको यो व्यवस्थाले भविष्यमा समस्या ल्याउन सक्छ भन्ने देखाउने सिनेमाको टिम भेट्दैछु भने म काम गर्न तयार हुनुपर्छ भन्ने लाग्यो ।’

आफूले गरिरहेको सिनेमाभन्दा अर्कै खालको सिनेमा मन पराउने पनि दर्शक छन् र त्यो दर्शकलाई नेपाली सिनेमाप्रति आकर्षित गर्नुपर्छ भन्ने भएपछि आफूले कलाकार बन्ने प्रयासमा गरेको पनि प्रदीपले बताए । ‘मैले पहिला गरेका सिनेमामा गुदी नै नभएको भन्ने प्रतिक्रिया आउँथ्यो । त्यसपछि मैले सोचेँ कि म आजसम्म हिरो बन्ने प्रयास गरिरहेको थिएँ अब कलाकार बन्ने प्रयास गर्छु,’ प्रदीप सुनाए ।

प्रदीप ‘प्रकाश’मा नेपालीपन दिएको भएपनि निन्द्रा लाग्ने सिनेमा नभएको स्पष्ट पार्छन् । सिनेमाको निर्देशक र कलाकार गरेकोे कामले सिनेमा आर्ट र कमर्शियल दुवै रहेको उनको दाबी छ । ‘नेपालीपन बोकेको सिनेमा भनेपछि बोरिङ हुन्छ भन्ने सोचबाट हटौं । ‘प्रकाश’ पूर्ण कमर्शियल सिनेमा हो । मात्र ब्याकड्रप र सेटअप हाम्रोपन हो,’ अभिनेता खड्काले स्पष्ट पारे ।

दिनेश राउत निर्देशित सिनेमामा प्रदीपका अलवा दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको सिनेमालाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको सिनेमामा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।