‘पानीफोटो’बाट माया पावरहाउस हो भन्ने बुझेँ : मेनुका प्रधान

‘पानीफोटो’बाट माया पावरहाउस हो भन्ने बुझेँ : मेनुका प्रधान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा पानीफोटो अभिनेत्री मेनुका प्रधानले अभिनय करियरमा झण्डै दुई दर्जन सिनेमामा अभिनय गरेकी छिन् । उनले जति सिनेमामा अभिनय गरेकी छन्, उनको अभिनयमा अब्बलता देखिन्छ । हरेक सिनेमामा उनले अभिनयको राम्रो छाप छोड्ने गरेकी छन् ।

सिनेमामा मेनुकाले सशस्त्र द्वन्द्वमा वेपत्ता भएको छोरालाई पर्खिरहेकी आमाको भूमिकामा अभिनय गरेकी छन् । उनले आफ्नो परिवार तथा नजिकका आफन्तमा सिनेमाको कथाजस्तो अनुभव त गरेकी छैनन् । तर उनले सिनेमाका निर्देशक खगेन्द्र लामिछानेबाट धेरै कुरा सिक्न पाएकको बताउँछिन् । आफुले डमरुको डण्डीवियोबाट खगेन्द्रलाई नजिकबाट चिन्ने अवसर पाएको भन्दै त्यसअघि एक अर्काकको नाटक हेर्न गरेको सुनाइन् ।

‘मसँग द्वन्द्वको पीडाको व्यक्तिगत अनुभव त केही पनि छैन । तर, सिनेमाको सुटिङअघि र सुटिङ भइरहँदा खगेन्द्र दाईले त्यो कथाहरु भित्री रुपमा महशुस गरोस् भनेर भावुक भएर भन्नुहुन्थ्यो । त्यो कथाले मलाई छुन्थ्यो’, शुक्रबार राजधानीको एक रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार भेटघाटमा मेनुकाले भनिन्, ‘खगेन्द्र दाईको कुरालाई वास्तविक अर्थमा बुझ्दा निकै मार्मिक रहेछ । मैले वेपत्ता छोराकी आमाको चरित्र निर्वाह गरेकी छु । आमाको त्यो पीडालाई भन्न नसकिने रहेछ । छोरासँगको त्यो मायाले, जिद्धीपनले सधैं तानिरहेको हुँदोरहेछ ।’

‘पानीफोटो’मा आमाको चरित्रमा अभिनय गरिरहँदा मेनुकाले मायाको अर्थलाई नजिकबाट बुझेको बताउँछिन् । ‘छोराप्रति आमाको माया कति शक्तिशाली हुँदो रहेछ भन्ने मैले पानीफोटोबाट थाहा पाएँ । सिनेमामा अभिनय गरिरहँदा माया भन्ने चिज पावरहाउस नै रहेछ भन्ने अनुभव भयो । आमाको महत्व थाहा पाएँ,’ मेनुका भन्छिन् । निर्देशक खगेन्द्रले सन् २०१० मा गुरुकुलमा मञ्चन गरेको नाटक ‘पानीफोटो’मा आधारित रहेर सिनेमा निर्माण गरिएको छ ।

उक्त नाटकमा अभिनेत्री अरुणा कार्कीले आमाको भूमिका निर्वाह गरेकी थिइन् । ‘त्यो नाटक हेर्दा अरुणा दिदीको अभिनयबाट प्रभावित थिएँ । मेरो कलिलो दिमागले नाटकको कथा नबुझे पनि अरुणा दिदीको अभिनयले धेरै भावुक भएकी थिए, अहिले सोही चरित्रमा आफुले अभिनय गर्ने अवसर पाउँदा चुनौतीसँग त्यो कथासँग नजिक भएर कथासारलाई महशुस गर्ने अवसर पाउँदा रमाइलो लागेको अनुभव मेनुका बाँडिन् ।’

खगेन्द्र लामिछानेको डेव्यु निर्देशन रहेको सिनेमामा मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मा, अजस्र ढुङ्गाना, कमल देवकोटा, पुष्पा यादव, सुलक्क्षण भारती, टिकाभक्त जिरेल, अनोज पाण्डे, अनिल पाण्डे, अर्जुन पौडेल, नवराज गिरीलगायतको पनि अभिनय छ ।

‘पानीफोटो’मा दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन, अर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा संगमको पाश्र्व संगीत छ । सिनेमाको कथा लेखन खगेन्द्र स्वयंको हो । डेढ दशक अगाडि गुरुकुलमा मञ्चन गरिएको नाटक ‘पानीफोटो’लाई खगेन्द्रले सिनेमाको रुपमा ढालेका हुन् ।