कात्तिक २५ मा नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’ रिलिज घोषणा

कात्तिक २५ मा नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा छायांकन गरिएको बलिउड सिनेमा ‘उचाई’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमवार निर्माण कम्पनी राजश्री प्रोडक्सनले आगामी ११ नोभेम्बर २०२२ अर्थात् कात्तिक २५ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषण गरेको हो ।

सूरज बडजात्या निर्देशित ‘उचाई’को करीब २५ दिन नेपालको लुक्ला, नाम्चे, मनाङलगायतको क्षेत्रमा छायांकन गरिएको थियो । यो अवधिमा निर्माण टिमले करीब २० करोड नेपालमा खर्च गरेको थियो । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतले नेपालमा सिनेमाको छायांकन गरेका थिए । सिनेमामा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ ।

अमिताभ भने स्वास्थ्य अवस्थाका कारण नेपाल आउन सकेनन् । उनको नेपालको सिनमा नेपाली कलाकारले डमी बनेर अभिनय गरेका छन् । भारतमा छायांकन भएको सिनेमाको ‘केटीको केटीको’ गीतमा भने अमिताभसहित अनुपम, बोमन, डेनी डेन्जोङ्पा लगायतका कलाकारले ढाका टोपीमा कम्मर मर्काएका थिए । सिनेमाले तीन पाका उमेरका साथीको नेपाल भ्रमणको कथा भन्छ ।

सिनेमा ‘उचाई’मा नेपाली कलाकार परमिता राणा, सरोज लामिछाने, डम्बर बोहरा, उरुशा जोशी, रमेश बज्राचार्य, तेन्जिङ ग्याचो शेर्पा, निरज मुक्तान, नारायण विश्वकर्मा, आयुश सुवेदी, स्नेहा अधिकारी लगायतको पनि अभिनय छ । परमिताले सिनेमामा नीना गुप्ताको डमी पात्र निभाएकी छन् ।

नेपालमा छायांकन भएकाले ‘उचाई’ले नेपालमा राम्रो कमाई गर्ने विश्लेषण गरिएको छ । यही मितिमा नेपाली तीन फिल्म ‘ह्यारी की प्यारी’, ‘पासो’ र ‘वेलकम टू हेम्जाकोट’ प्रदर्शनमा आउने तयारीमा छन् ।