नेपालअघि बेलायतमा प्रदर्शन हुँदै ‘गोर्खाः बिनिथ द ब्रेभरी’

नेपालअघि बेलायतमा प्रदर्शन हुँदै ‘गोर्खाः बिनिथ द ब्रेभरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली गोर्खा सैनिकले चिनाएको देश मानिने बेलायतबाट नेपाली सिनेमा ‘गोर्खाः बिनिथ द ब्रेभरी’को रिलिज सुरुवात गरिने भएको छ । २९ जुलाई २०२२, शुक्रवारबाट बेलायतका विभिन्न शहरमा सिनेमा प्रदर्शन आउन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।

गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएकाले सिनेमालाई सबैभन्दा पहिला गोर्खा सैनिक बस्ने देशमा प्रदर्शन गर्न लागिएको उनको भनाई छ । यो सिनेमा सेप्टेम्बरदेखि फल्कल्यान्ड आइल्यान्डमा पनि प्रदर्शन हुने निश्चित भएको छ ।

सिनेमाले उठाएको ब्रिटिस आर्मीसँगको ऐतिहासिक कथावस्तुका कारण बीएफबीएस सिनेमाघर युके आर्मी सिनेमामा पनि सिनेमा प्रदर्शन हुने निर्देशक शाहीले बताए । आगामी भदौ २४ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको सिनेमामा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर सिनेमा निर्माृण गर्दै आएका शाहीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् । शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा विनोद सुवेदी खत्री कार्यकारी निर्माता र मधु गुरुङ तथा प्रयास गुरुङ निर्माताको रुपमा छन् ।

नेपाल प्रदर्शनभन्दा अगाडि सिनेमाको अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा पनि स्क्रिनिङ हुनेछ । नेपालमा सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ । निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खालाई श्रद्दाञ्जली दिन सिनेमा निर्माण गरेको जानकारी दिए । निर्माता सुवेदीले गोर्खालीको सत्य घटनामा आधारित सिनेमामा जोडिन पाउनु आफ्नो सौभाग्य रहेको बताए ।

सिनेमामा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, रुपेश गुरुङको सम्पादन, अश्रुती पटेलको कला निर्देशन, बेलेन सिलोगुल्लरको कलर, एरमान जम्बकको भिएफएक्स र रबिन श्रेष्ठको साउन्ड ट्रयाक छ ।