द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र शरवरीको मुख्य भूमिका रहेको सिनेमा ‘अल्फा’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक साढे २ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तु प्रकाश पारेको छ । अभिनेता बबी देओल र अभिनेत्री आलिया भट्टलाई केन्द्रमा राखिएको ट्रेलरमा आलिया एक्सन अवतारमा प्रस्तुत छिन् ।
बबी र आलिया बाबुछोरीको भूमिकामा छन् । उनी साहसिक शैलीमा एक्सन गर्दै देखिएकी छन् । एक्सन दृश्यहरूमा उनी आक्रामक अवतारमा प्रस्तुत भएकी छन् । ट्रेलरमा आलियासहित शरवरीका प्रशस्त एक्सन दृश्य समावेश छन् । आलिया ‘सीता’को भूमिकामा पिताको भूमिका निभाएका बबी देओलको ‘फतेह’ पात्रविरूद्ध उत्रिएकी छन् । शरवरीले आलियाको पात्रको अभियानमा साथ दिएकी छन् ।
ट्रेलरको सुरूवातमा फतेहले सीतालाई हुर्काएर खतरनाक हत्याराका रूपमा तयार पारेको देख्न सकिन्छ । तर सीताले नै उसविरूद्ध विद्रोह गर्दै आफ्नै बलमा ‘लंका’ ध्वस्त पार्ने अभियान सुरू गर्छिन् । शरवरी पनि मिशनमा सहभागी हुन्छिन् भने अनिल कपूरले दुवै एजेन्टको मार्गदर्शक बनेका छन् । बबी देओलको पात्र देशसँग बदला लिन चाहने पूर्व गुप्तचरका रूपमा प्रस्तुत छ । ट्रेलरमा उनको संवाद छ, ‘भारतले अल्फाको कदर गरेन, अब भारत अल्फासँग डराउनेछ ।’
सार्वजनिक ट्रेलरको अन्त्यमा दर्शकका लागि विशेष सरप्राइज राखिएको छ । वाईआरएफ स्पाई यूनिभर्सका अघिल्ला दुई सिनेमा ‘वार’ र ‘वार २’का लोकप्रिय पात्र मेजर कबिर अर्थात् ऋतिक रोशनलाई देखाइएको छ । यद्यपि उनको अनुहार पूर्ण रूपमा नदेखाइए पनि छोटो उपस्थितिले नै प्रशंसकलाई उत्साहित बनाउँछ ।
यशराज फिल्मस्को आगामी जुलाई ३ मा विश्वव्यापी प्रदर्शनमा आउने एक महिलाप्रधान स्पाई यूनिभर्स सिनेमा हो । सिनेमामा बबी र आलियासहित शरवरी वाघ, अनिल कपूर, र आर माधवन पनि मुख्य भूमिकामा छन् । आदित्य चोपडा निर्माता रहेको सिनेमाको निर्देशन शिव रवैलले गरेका हुन् । ‘फ्यान’, ‘धुम ३’ जस्ता सिनेमामा सहायक निर्देशक भएर काम गरेका शिवको ‘अल्फा’ पहिलो फिचर सिनेमा हो ।
‘वाईआरएफ स्पाई युनिभर्स’ भारतकै सबैभन्दा सफल फ्रेन्चाइजमध्ये एक मानिन्छ । यस युनिभर्सको सुरुवात सन् २०१२ मा प्रदर्शनमा आएको ‘एक था टाइगर’बाट भएको थियो, जसमा सलमान खान मुख्य भूमिकामा थिए । ‘अल्फा’ यशराज फिल्म्सको सातौं स्पाई यूनिभर्स सिनेमा हो । यो सिनेमा एक सय करोडको लागतमा निर्माण भएको बताइएको छ ।


प्रतिक्रिया