बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’ बन्दै, सौरभ चौधरीले निर्देशन गर्ने

बुद्धिसागरको लेखनमा ‘द राइज अफ साम्राज्य’ बन्दै, सौरभ चौधरीले निर्देशन गर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं। चर्चित आख्यानकार बुद्धिसागरको लेखनमा सिनेमा ‘द राइज अफ साम्राज्य’ बन्ने भएको छ। सिनेमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको हो । निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको औपचारिक घोषणा गरेको छ।

सार्वजनिक पोस्टरमा आगोका लप्का, घोडामा सवार पात्रहरू र राजसी भेषभूषामा देखिएका छन्, जसले सिनेमा कुनै ऐतिहासिक वा विद्रोही कालखण्डसँग जोडेको अनुमान गर्न सकिन्छ। पोस्टरको बायाँतर्फ उडिरहेको रातो झण्डाले क्रान्ति वा द्वन्द्वको प्रतीक झल्काउँछ। पृष्ठभूमिमा धमिलो देखाइएको रामलीला नाटकले सिनेमाको कथालाई रोचक र रहस्यमय बनाएको छ।

पछिल्लो समय एक्सन र मेकिङमा रुचाइएका निर्देशक चौधरीले यसपटक झन् ठूलो क्यानभासमा काम गर्न लागेका हुन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको आगामी भदौ पहिलो साताबाट छायांकनमा जाने तयारी रहेको टिमले जनाएको छ। मानकृष्ण महर्जनले छायांकन गर्ने सिनेमा पूर्वी नेपालका विभिन्न स्थानमा करिब ७० दिनसम्म खिचिनेछ।

सिनेमामा प्रवेश चौधरी र निला देवको लगानी रहनेछ। सिनेमाका कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने सह-निर्माता विश्वास बस्नेत (बेन) रहेका छन्। त्यस्तै एक्सन निर्देशकका रूपमा श्री श्रेष्ठ जोडिएका छन्।

निर्माण पक्षले प्राविधिक टोलीको टुंगो लगाए पनि कलाकारहरूको नाम भने गोप्य नै राखेको छ, जसलाई केही दिनभित्रै सार्वजनिक गर्ने तयारी छ।

प्रदर्शन मिति तय गर्न भने निर्देशक चौधरी हतार गर्ने पक्षमा छैनन्। ‘अहिलेलाई हामीले थिम र टाइटल मात्र बाहिर ल्याएका छौँ,’ सिनेमाको प्रदर्शन मितिबारे उनले भने, ‘पूर्ण रूपमा छायांकन सकिएपछि पोस्ट प्रोडक्सनको कामलाई मध्यनजर गर्दै प्रदर्शन मिति तय गर्ने सोच हो। पहिला एउटा लाइनअप तयार होस्, त्यसपछि रिलिज डेटबारे सोचौँला।’