टिकटक र युट्युबमा भाइरल बन्दै ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’

टिकटक र युट्युबमा भाइरल बन्दै ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ले डिजिटल प्लेटफर्ममा चर्चा बटुल्न थालेकाे छ । गीत सार्वजनिक भएको ४८ घण्टामै टिकटकमा १ लाखभन्दा बढी भिडियो बनिसकेकाे निर्माण टिमले जनाएकाे छ । टिकटकसँगै युट्युबमा पनि गीतको भिडियोले ६ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ ।

टिकटकमा सर्वसाधारणदेखि स्थापित सेलिब्रेटीहरूले समेत यसको ‘हुक’ स्टेपमा भिडियो बनाइरहेका छन् । छोटो समयमै लाखौँ दर्शकमाझ पुग्नु र टिकटकमा हजारौँको संख्यामा भिडियोहरू निर्माण हुनुले सिनेमाको बलियो हाइप सिर्जना गरेको छ । लोकशैलीमा तयार पारिएको यो गीत यतिबेला हरेक पुस्ताको रोजाइमा परेको छ ।

गीत सिनेमाका प्रस्तुतकर्ता समेत रहेका अर्जुन पोखरेलको शब्द तथा संगीतमा बनेको हो । गीतमा लोकप्रिय गायिका अञ्जु पन्त, गायकहरू प्रशान्त सिवाकोटी र रवि ओडको स्वर छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार पारस बम ठकुरी (कुल ब्वाइ), दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङको आकर्षक नृत्य रहेको छ । भिडियोको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्।

विशेष गरी भिडियोमा पारस र दिव्या बेहुला/बेहुलीको आकर्षक भेषमा देखिएका छन्, जसले सिनेमाको कथा विवाह र यसको सेरोफेरोमा केन्द्रित रहेको संकेत गर्दछ । गीतमा अभिनेता सुशान्त कार्की र पदम तामाङको ‘सरप्राइज इन्ट्री’ रहेको छ ।

सिनेमा सशान कँडेलको निर्देशन र माधव शर्माको लेखनमा बनेको हो । सिनेमा आगामी भदौ २६ गतेदेखि प्रदर्शन हुनेछ । सिनेमामा पारस, दिव्या, सुशान्त र पदमको साथमा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल, समायरा थापा मगरलगायत कलाकारको अभिनय छ।

द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको सिनेमामा अर्जुन पोखरेल प्रस्तुतकर्ता छन् भने सिनेमाका निर्माता प्रताप शमशेर राणा हुन् ।

त्यस्तै शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सिनेमा काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र बाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।