द सिनेमा टाइम्स, काठमाडौं । हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को मुख्य भूमिका रहेको सिनेमा ‘आई एम जितबहादुर’ भोली शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो सिनेमाको प्रदर्शन पूर्वसन्ध्यामा बुधबार काठमाडौंमा ग्राण्ड प्रिमियर सम्पन्न गरिएको हो । यो प्रिमियर समारोहमा सिनेमा क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रिमियर शोमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर्देशक तुलसी घिमिरे, अभिनेत्री केकी अधिकारी र स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, दीपाश्री निरौला, नरेश पौडेल, डा। कपिल रिजाल, हास्य कलाकार राजाराम पौडेल, मनोज गजुरेल, अभिनेता महेश त्रिपाठी, जयकिशन बस्नेत, संजोग कोइराला र आयुष्मान देशराज जोशी, गायक हेमन्त शर्मा र शिव परियार, लोकगायक रामप्रसाद खनाल लगायत प्राविधिक र रंग पत्रकारको उपस्थिति रहेको थियो ।
प्रिमियरपछि अधिकांश सिनेमाकर्मीहरूले सिनेमाको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका थिए । सिनेमाले कलाकार बन्ने सपना बोकेको एक सामान्य व्यक्तिको संघर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दर्शकहरूले दिएका छन् ।
सिनेमामा जितुसहित वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । सिनेमाले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ । गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई सिनेमाले चित्रण गरेको छ ।
सुभेन्दु घोष निर्देशित सिनेमाका निर्माता जितु नेपाल तथा सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी अनि कार्यकारी निर्मातामा निश्चल कुँवर र निरज नेपाल छन् । सिनेमाको डिजिटल अधिकार ओएसआर तथा वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ ।


प्रतिक्रिया