‘क्याप्टेन साब’को छायांकन दुई चरणमा गरी ११ महिनामा सकियो

‘क्याप्टेन साब’को छायांकन दुई चरणमा गरी ११ महिनामा सकियो

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । बुधबार काठमाडौंमा अन्तिम दृश्य खिचिएसँगै सिनेमाको छायांकन प्याकअप भएको हो । दुई चरणमा गरी ११ महिनामा सिनेमाको छायांकन पूरा भएको निर्देशक खनालले जानकारी दिए ।

यो सिनेमाको गत साउन पहिलो साताबाट छायांकन सुरु गरिएको थियो । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण सिनेमाको छायांकन रोकिन पुग्यो । त्यसपछि करिब ९ महिना छायांकन नै हुन सकेन । जसले गर्दा अब सिनेमा नै नबन्ने चर्चा समेत चलेको थियो । तर, गत जेठ दोस्रो साताबाट काभ्रेमा सिनेमाको छायांकन पुनः सुरु भयो ।

पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको सिनेमामा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र संजोग रसाइलीको मुख्य भूमिका रहेको छ । खगेन्द्रले क्याप्टेन थापाको भूमिका निभाएका छन् । उनको श्रीमतीको भूमिकामा सुरक्षा छिन् । खगेन्द्र र सुरक्षाले यसअघि सिनेमा ‘धनपति’मा एकसाथ काम गरेका थिए ।

यो सिनेमाले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा क्याप्टेन थापाले जोखिम मोलेर हेलिकप्टरमार्फत घाइते सुरक्षाकर्मी र सर्वसाधारणको उद्धार गर्दाका साहसिक क्षणहरूलाई देखाउने जनाइएको छ ।

क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित यो सिनेमाका लेखक तथा निर्माता निर्देशक खनाल स्वयं हुन् । अभिनेत्री सिर्जना नापित कार्यकारी निर्मातामा छिन् । सिनेमालाई यही वर्ष रिलिज गर्ने योजना बनाइएको छ ।