‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमा ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । सोमबार निर्माता सन्तोष सेनले केही पोस्टर रिलिज गर्दै सिनेमा नेपाल र भारतमा एकै दिन रिलिज हुने जानकारी दिए । यसअघि सिनेमा भारतमा विश्वजितम् नाममा रिलिज हुने बताइएको थियो ।

तर, भारतीय निर्माताले ‘प्रेमगीत ३’ नाममै भारतमा समेत रिलिज गर्दा व्यावसायिक रुपमा फाइदा हुने बताएपछि सोही नाममा सिनेमा रिलिजको तयारी गरिएको हो । २३ सेप्टेम्बरमा रिलिज हुने सिनेमाको हिन्दी ट्रेलर सेप्टेम्बर १ तारिखमा रिलिज गरिने जानकारी दिइएको छ । यस्तै सिनेमा ओटिटी तर्फ भने अमेजन प्राइममा रिलिज हुनेछ ।

जी-म्युजिक, युएफओ र मधु इन्टटेनमेन्टले सिनेमालाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ हप्तापछि ‘प्रेमगीत ३’ ओटीटीमा रिलिज हुनेछ । निर्माताले महंगो मूल्यमा सिनेमाको राइट भारतमा बेचेका हुन् । मधु इन्टटेनमेन्ट र युएफओले सिनेमालाई नेपालबाहेक विश्वभर रिलिज समेत गर्नेछ ।

सिनेमामा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, सुनिल थापा, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतको अभिनय छ । यही सिनेमाबाट मनिष र क्रिष्टिनाले अभिनेता र अभिनेत्रीको रुपमा नेपाली सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् ।

काठमाडौं र मनाङमा छायांकन गरिएको सिनेलालाई राजेश श्रेष्ठले खिचेका हुन् । आशुषेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेका हुन् ।