‘प्रेमगञ्ज’ र सिनेमा पत्रकारबीच फुटसल प्रतियोगिता सम्पन्न

‘प्रेमगञ्ज’ र सिनेमा पत्रकारबीच फुटसल प्रतियोगिता सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगञ्ज’ र रंग पत्रकारबीच भएको फुटसल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । आइतबार कुलेश्वरस्थित भिजिनोभा रिक्रिएसन सेन्टरमा भएको प्रतियोगितामा पत्रकारको टोलीले सिनेमाको टोलीमाथि ३-२ को जित दर्ज गराएको हो ।

पत्रकारको तर्फबाट तीनै गोल रंग पत्रकार विजय आवाजले गरेका थिए । ‘प्रेमगञ्ज’ टोलीले फर्काएको दुई गोल सिनेमाका मुख्य अभिनेता तेज गिरीले प्रहार गरेका थिए । सिनेमाको तर्फबाट अभिनेता तेज गिरीबाहेक अभिनेत्री बेनिशा हमाल, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल र सिमरन खड्का मैदानमा उत्रिएका थिए ।

साउन १५ मा खीर खाने कार्यक्रमसहित आयोजना गरिएको कार्यक्रममा सिनेमाको टोलीले पत्रकारसँग सिनेमालाई लिएर अन्र्तक्रियासमेत आयोजना गरेको थियो । निर्देशक परिच्छेदसहित उपस्थित कार्यक्रममा निर्देशक तथा कलाकारले सिनेमाले प्रेमका आयामलाई फरक उमेर समूहका आधारमा अभिव्यक्ति गर्ने प्रयास गरेको बताएका थिए ।

‘हामी खुसी हुँदा होस् वा दुःखी एकचोटि विगतमा फर्कन्छौँ नै । सिनेमाले पनि हाम्रो प्रेम अनुभवलाई सम्झाउँदै विगतमा लैजान्छ,’ अभिनेता तेज गिरीले भने, ‘एउटा रोमान्टिक सिनेमा बनाउने हाम्रो प्रयास थियो । ट्रेलरपछि आएको प्रतिक्रियाले हामी प्रयासको नजिक पुगेको आभास भएको छ । बाँकी त सिनेमा हेरेपछि नै प्रतिक्रिया आउला ।’

निर्देशक परिच्छेद सेनले आफूलाई डेब्यूका लागि अरु कथा पनि हुँदाहुँदै यो कथा छान्नमा विशेष कारण रहेको बताए । ‘मसँग भन्नलाई धेरै कथा थिए तर यही कथा छान्नुको कारण चाहिँ बजारको पनि लोभ हो,’ उनले कलात्मक सिनेमाले अपेक्षित व्यापार नगरिरहेको तर्फ संकेत गर्दै भने, ‘ त्यही कारण हामीले सबैभन्दा पुरानो तर सदाबहार कथा, प्रेमकथा लिएर आएका हौँ ।’

अभिनेत्री बेनिशा हमालले पनि सिनेमामा आफूले समर्पित प्रेमीको भूमिका निर्वाह गरेको बताएकी थिइन् । ट्रेलरमा बेनिशाले डेव्यु अभिनेता तेज गिरीलाई दुःख दिएका दृश्यले ठाउँ पाएका छन् । बेनिशाले प्रेमीलाई माया गर्ने एउटा तरिका ‘हर्ट’ गर्नु पनि रहेको र सिनेमाका ती दृश्यले यही भाव अभिव्यक्त गरेको बताइन् ।

कार्यक्रममा अभिनेत्री सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल र सिमरन खड्काले पनि सिनेमाको आफ्नो अनुभव सुनाएका थिए । राजु फुँयालको प्रस्तुतीमा अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमा नेपाल, भारतसँगै युरोपका देशहरुमा एकसाथ रिलिज हुँदैछ ।