पूर्वी शहरमा ‘माइकल अधिकारी’को प्रचार, निरक भन्छन ‘निरास बनाउदैन’

पूर्वी शहरमा ‘माइकल अधिकारी’को प्रचार, निरक भन्छन ‘निरास बनाउदैन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘माइकल अधिकारी’ यतिबेला चर्चामा छ ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमाले प्रदर्शन मिति नजिकिंदै गर्दा प्रचारलाई अझ तीव्र बनाएको छ ।

यसै बीच शनिबार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख शहर विर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ ।

विर्तामोडको ‘वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा सिनेमाको गीतमा कलाकारहरुले प्रस्तुति दिए ।

प्रेसमिटमा बोल्दै अभिनेता सौगातले ‘माइकल अधिकारी’मा फरक कथामा मनोरंजनको डोज रहेको बताए । झापा र ईलाममा छायांकन गरिएका कारणपनि पूर्वेली दर्शकले सिनेमामा अपनत्व महसुस गर्ने दावी गरे ।

यस्तै निर्माता निरक पौडेलले हाम्रै समाजको कथा भएकाले सिनेमा हेरेर दर्शक निरास नहुने दावी गरे । उनले भने, ‘सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरंजन लिन सक्नु हुनेछ । मनोरंजनको हकमा यसले निरास बनाउदैन ।’

रञ्‍जित रौनियारको निर्देशन रहेको सिनेमामा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । एक गरिब दम्पतिले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा दिने) निर्णय गर्छन । त्यसपछि दम्पतिको जीवनमा आउने उतारचढाव सिनेमामा देखाइएको छ ।

सिनेमामा सौगात र सृष्टिका अलावा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।