‘बाबरी’ ट्रेलरमा अदिति पाउन दुई धिरजको टक्कर

‘बाबरी’ ट्रेलरमा अदिति पाउन दुई धिरजको टक्कर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – असोज १४ मा रिलिज हुने सिनेमा ‘बाबरी’को ट्रेलर रिलिज भएको छ । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा दुई युवक र एक युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

सुरेन्द्र पौडेल निर्देशित सिनेमाको ट्रेलरमा कमेडी, नोकझोक, प्रेम, रोमान्स र वियोगका क्षण महसुस गर्न सकिन्छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहोरा र किशोर नेपालको लेखन रहेको सिनेमामा धिरज मगर, अदिति बुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ । ट्रेलरपनि यी तीन कलाकारको वरिपरि घुम्छ । अदितिलाई पाउन दुई धिरजको टक्करले दर्शकमा कौतुहलता जगाउछ ।

सिनेमामा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् । भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निभाएकी छन् ।

सिनेमामा समावेश ‘बाबरी रंग’ र ‘चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेकाले ‘बाबरी’ प्रतिक्षित बनेको छ । ‘कृ’ डेब्यु अदिति र ‘इन्टु मिन्टू लण्डनमा’बाट डेब्यु गरेका धिरज मगरको दोस्रो सिनेमा भएका कारण यसले दर्शक हलसम्म तान्न सक्ने अनुमान गरिएको छ ।