सीता बन्न दीयाको मिहेनत – जोत्ने, मल बोक्नेदेखि ४५ दिनसम्म नुहाइनन्

सीता बन्न दीयाको मिहेनत – जोत्ने, मल बोक्नेदेखि ४५ दिनसम्म नुहाइनन्

द सिनेमा टाइम्स
0
Shares

अभिनेत्री दीया मास्के सिनेमा ‘प्रकाश’मा अन्तिम समयमा छनोट भइन । स्क्रिप्ट हातमा आयो । कर्णाली प्रदेशकी हिमाली भेगकी महिला – दीयाले बाच्नु पर्ने चरित्र रहेछ ।

एक सम्पन्न परिवारमा हुर्किएकी दीयालाई विकट गाउँकी सामान्य महिलाको चरित्र गर्न सजिलो थिएन । तर, उनले चुनौती स्वीकार गरिन ।

जुम्ला नेपाली भाषाको उद्गमस्थल पनि हो । एसएलसीपछि नेपाली बोल्न सिकेकी दीयालाई पश्चिमेली ठेट भाषा सिक्नु अर्को चुनौती थियो । व्यक्तिगत जीवनमा आधुनिक लाग्ने दीयालाई त्यहाँको रहनसहन, संस्कृति र लवज सिक्न अतिरिक्त समय चाहियो ।

दीयाले निर्वाह गर्ने चरित्रको नाम ‘सीता’ थियो । ‘द्वन्द्वमा वेपत्ता एक श्रीमानकी पत्नी हुन् सीता । जो श्रीमानको सपना पुरा गर्न छोरालाई शिक्षक बनाउन संघर्षरत छिन । घरव्यवहार उनले नै हेर्छिन । उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन । तरपनि उनि सक्षम छिन ।’ सीता चरित्रबाट आफुले धेरै कुरा सिक्न पाएको दीया बताउछिन ।

उनि दुई साता अगाडी नै छायांकन स्थल पुगिन् । त्यसपछि सुरु भयो चरित्रलाई जिवन्त बनाउने दीयाको संघर्ष । उनि गाउँका महिलाहरुसंग भेट्न थालिन् । उनीहरुका व्यवहार, शारीरिक अवस्था, हाउभाउ, लवज टिप्न थालिन् । उनले त्यहाँका महिलाले गर्ने दैनिकीलाई पनि महसुस गरिन ।

दीयाले डोको बोकिन, बारीमा मल मिलाउने काम गरिन र हलोपनि जोतिन । प्रत्यक्ष रुपमा देखिने अंगहरु ४५ दिनसम्म सफा गरिनन् । उनलाई मेकअपले हुलिया बनाउनु थिएन । त्यसैले चरित्रमा जिवन्तता प्रदान गर्न उनले आफुलाई सफा राखिनन् ।

केहि समयपछि दीयाका हात, खुट्टा र ओठ फुट्न थाले । रगत बग्दा पिडा हुन् थाल्यो । ‘पिडा भएपनि चरित्रलाई जिवन्त बनाउनु थियो । पिडामा अझ धेरै त्यहाँको दु:ख महसुस भयो ।’ छायांकन सकिएको वर्षसम्मपनि खुट्टा फुट्ने र रगत आउने समस्याले सताएको दीया सम्झिन्छिन ।

जुम्ला बसाईमा दीयाले सुल्पा (बिंडी) खान र कपाल बाट्न सिकिन । तर, पछि गएर उनको शरीरमा सुल्पाको असर देखिन थाल्यो । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ आएर उनले उपचार थालिन् ।

छायांकन बेलाको संघर्ष सम्झिन्दा दीयालाई आफुले केहि राम्रो गरे जस्तो लाग्छ । सिनेमाको पोस्टर र ट्रेलर सार्वजनिक भएपछी दीयाले दर्शकबाट नराम्रो कमेन्ट भेटेकी छैनन् । दर्शकले हौसला दिइरहेका छन् ।

सिनेमामा दीयाले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । फिटनेस र उमेर हेर्दा दीयालाई अहिले नै प्रदीपको आमा बन्न जरुरी थिएन । तर, आफु चरित्रमा डुब्ने कलाकार भएका कारण उमेर र फिटनेसको प्रवाह नहुने बताइन ।

अहिले नै आमाको भूमिका निर्वाह गर्दा केहि निर्देशकले दीयालाई पछि गएर उमेर अनुसारको रोल नपाउला भन्ने प्रश्न नगरेका होइनन् । यस्ता प्रश्नलाई दीया सहजै लिन्छिन । ‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दीया नभई उक्त क्यारेक्टर देखिनु पर्छ । मेरो जहिले त्यहिँ प्रयास रहन्छ । मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिन’ उनले भनिन् ।

चरित्रमा डुबेर त्यसलाई जिवन्त बनाउनु कलाकारको पहिलो धर्म मान्छिन दीया । ‘मैले आफूले पाएको भूमिकालाई जीवन्त बनाउन इमान्दारिताका साथ मेहनत गर्नु पर्छ । त्यसलाई दर्शकले नोटिस गरेमा सुनमा सुगन्ध हुन्छ । नत्र आउने प्रतिक्रियाका आधारमा मात्र एउटा कलाकारले अभिनय गर्नु हुन्न । हामीले आफ्नो तर्फबाट इमान्दारिताका साथ् काम गर्ने हो’ दीयाले थपिन ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा दीया र प्रदीपसंगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

तस्विर: ज्ञानु राई