प्रिमियरमा ‘प्रेमगन्ज’ प्रतिक्रिया: बेनिशा र तेजको प्रशंसा

प्रिमियरमा ‘प्रेमगन्ज’ प्रतिक्रिया: बेनिशा र तेजको प्रशंसा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ ३ देखि प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगन्ज’को राजधानीमा प्रिमियर गरिएको छ ।

मंगलबार सम्पन्न प्रिमियरमा सिनेमाले पाहुनाबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो । परिच्छेद सेन लेखन तथा निर्देशनमा बनेको सिनेमाले दुई पुस्ते प्रेमकथा भन्छ ।

प्रिमियरमा विशेषगरि सिनेमाको कथाबस्तु, कलाकारको अभिनय, छायांकन, गीत/संगीत र निर्देशकीय पाटोले प्रशंसा भेटे । यी विधामै आगन्तुकले तारिफका शब्द खर्च गरे ।

निर्मात्री शर्मिला पाण्डेले सिनेमा मन परेको र माथिल्लो लेभलको प्रेमकथा हेर्न पाएको प्रतिक्रिया दिइन । ‘सिनेमा लामो भएपनि समय बितेको पत्तै हुँदैन । सिनेमा उत्कृष्ट छ । कलाकारहरुले उत्कृष्ट काम गरेका छन् । प्रेम कुन हदसम्म पुग्छ भन्ने कुरा बुझ्न पाएँ । बेनिशाले कामले मन जित्यो । नयाँ कलाकार तेज गिरी नेपाली सिनेमामा राम्रो सम्भावना देखाएका छन् । तीन जना बालकलाकार भोलिका सुपरस्टार हुन् ।’ पाण्डेले प्रशंसाका शब्द खर्च गरिन ।

निर्देशक नरेश पौडेलले पनि सिनेमा उत्कृष्ट लागेको र खोट लगाउने ठाउँ नभेटेको प्रतिक्रिया दिए । ‘एउटा राम्रो प्रेमकथा । जसले ३ घण्टा मज्जाले बाँध्न सक्छ । कलाकारहरुले उत्कृष्ट काम गरेका छन् । अनि केन्द्रमा बेनिशा हमालको अभिनयलाई राख्न चाहन्छु । उनको काम कल्पना भन्दा बाहिरको छ ।’ निर्देशक पौडेलले भने ।

निर्देशक परिच्छेद सेनले प्रिमियरको प्रतिक्रियाले हौसला मिलेको बताए । ‘हामीले सिनेमा राम्रो बनाउन मिहेनत गर्यौँ । अहिले सबैले राम्रो भन्नु भएको छ । प्रिमियरमा कति पत्रकारहरुले कुनै दृश्यमा कैची चलाउनु पर्ने सुझाव दिनु भएको छ । त्यसलाई आत्मसाथ र छलफल गरेर सिनेमा रिलिज गर्नेछौँ ।’ सेनले खुसि हुँदै भने ।

कलाकार बेनिषा हमालले सिनेमा हेर्दा आफु धेरै पटक रोएको र दर्शकको प्रतिक्रियाले खुसि मिलेको बताइन । डेब्यु कलाकार तेज गिरीले आफ्नो काममा तारिफ भएकोमा सबैमा धन्यवाद व्यक्त गरे ।

सिनेमामा बेनिशा र तेजका अलावा सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, आयुशी ढकाल, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।

संजय लामाको छायांकन रहेको सिनेमामा किरण भुषाल/पुरुषोत्तम ढुंगेल/गैरे सुरेश/सरोज पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछानेको निर्माण छ ।