प्रिमियरमा ‘माइकल अधिकारी’लाई तारिफ नै तारिफ, कसले के भने ?

प्रिमियरमा ‘माइकल अधिकारी’लाई तारिफ नै तारिफ, कसले के भने ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘माइकल अधिकारी’ले प्रिमियरमा प्रशंसा पाएको छ ।

गोपीकृष्ण हलमा बुधबार सम्पन्न प्रिमियरमा सबै जसो पाहुनाले सिनेमा मन पराए । अधिकाँसले सिनेमाको कथाबस्तु र कलाकारको अभिनयमा मुक्तकण्ठले प्रशंसा गरे ।

अभिनेत्री रेखा थापाले सृष्टिको अभिनयले मन जितेको भन्दै तीन पटक रोएको प्रतिक्रिया दिइन ।

‘सृष्टि मिस नेपाल हुँदादेखि नै मलाई मन परेको हो । उ सिनेमामा आउनु पर्छ भन्ने चाहना थियो । त्यसपछि लकडाउनको समयमा एउटा सिरिज हेर्दाखेरि नै म उसको फ्यान भएकी थिएँ । आज मैले पुरा सिनेमामा हेर्दा एकदमै ठुलो फ्यान भएँ । सृष्टिले मलाई तीन पटक रुवायो । सौगातको अभिनयको प्रशंसा गर्ने मसंग शब्द नै छैन ।’

रेखाले सबैले हेर्नु पर्ने सिनेमा भन्दै अगाडी थपिन ‘मेरो विचारमा सृष्टि सुपरस्टार । सिनेमाको कथाबस्तु राम्रो छ । प्रत्येक अभिभावक र सन्तानले हेर्नै पर्ने सिनेमा बनेको छ । आशा छ सिनेमाले सफलता पाउनेछ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सिनेमालाई मनोरंजन, पृथकता र संदेशको समिश्रण भने ।

‘धेरै लामो समयपछि नेपाली सिनेमा हेर्ने मौका मिल्यो । नितान्त नयाँ कथाबस्तु हेर्न पाउँदा खुसि मिलेको छ । सिनेमाले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम दिन्छ भन्ने विश्वास लिएको छु । यो मनोरन्जात्मक छ, पृथक र संदेशमुलकपनि छ । कलाकारको अभिनय स्वभाविक देखिन्छ ।’ लिङ्देनले ‘माइकल अधिकारी’लाई सफलताको शुभकामना दिंदै तारिफका शब्द खर्चिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि कथाबस्तु कै तारिफ गरे । ‘सिनेमा राम्रो लाग्यो । विशेष गरि कलाकारहरुले राम्रो काम गर्नु भएको छ । कथाबस्तुपनि राम्रो छ । सौगातको अभिनयको फ्यान पहिलेदेखि नै थिएँ, यसपटक सृष्टिलाई पनि प्रभावशाली पाएँ । रविले भने ।

गायक आनन्द कार्कीले सिनेमाले २ घण्टा बढी समय मज्जाले बाँध्ने प्रतिक्रिया दिए । ‘सिनेमाको कथा नै पृथक छ । यसले मेरो मन छोयो । सबै कलाकारले राम्रो काम गर्नु भएको छ । विशेष कुरा भनेको सिनेमाले दर्शक मज्जाले बाँध्न सक्छ ।’ कार्कीले पनि सिनेमाको प्रशंसा गरे ।

प्रसूति विशेषज्ञ डा. भोला रिजालले सेरोगेसीको कथा उठान गर्नु नै मेकरको आँट भएको कुरामा जोड दिए ।

भोलाले मिडियासंगको कुरा भने, ‘निर्माताले मलाई प्रिमियरमा बोलाउनु भयो । व्यस्तताका वावजुत सिनेमाको कथाबस्तुले प्रिमियरसम्म तान्यो । यो एउटा नयाँ कथा हो, यस्तो कथामा धेरैले सिनेमा बनाउने आँट गर्दैनन् । सिनेमाले भाडाको कोखको मात्र कथा भन्दैन । यसले समाज जोडेको छ, मानिसको समवेदना छोएको छ । मलाई विश्वास छ सिनेमाले सबैको मन मस्तिस्कमा छाप छोड्नेछ ।’

यस्तै अभिनेता तथा मोडल यसराज गराचले सौगात र सृष्टिको अभिनयको तारिफ गरे । ‘सिनेमा राम्रो बनेको छ । तपाईलाई सिटबाट हल्लिन पनि दिंदैन । ट्रेलर हेर्दा ठिकै लागेको थियो । सिनेमाले मज्जाले बाँध्यो । सौगातको अभिनयको पहिलेदेखि फ्यान थिएँ । यसपटक सृष्टि जीले रुवाउनु भयो ।’ गराचले खुसि हुँदै भने ।

सिनेमाले पाएको सकारात्मक प्रतिक्रिया र आफ्नो कामको मुल्यांकन भैरहँदा सृष्टि र सौगात प्रिमियरमा खुसि देखिन्थ्ये ।

प्रिमियरमा नेपाली सिनेकर्मी, राजनीतिज्ञ, मिडियाकर्मीको उल्लेख्य उपस्थिति थियो ।

रञ्‍जित रौनियारले निर्देशन गरेको सिनेमामा सौगात र सृष्टिका अलावा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई निरक पौडेलले निर्माण गरेका हुन् । सिनेमा कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ । मल्टीप्लेक्स तर्फ सिनेमाको अग्रिम बुकिङ खुल्ला भैसकेको छ ।

तस्विर: ज्ञानु राई