हलमा माइकल अधिकारी, प्रेमगन्ज र कृष्णलीला

हलमा माइकल अधिकारी, प्रेमगन्ज र कृष्णलीला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज कृष्ण जन्माष्टमीको अवसरमा तीन नेपाली सिनेमा सार्वजनिक प्रदर्शनमा आएका छन् ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित ‘कृष्णलीला’, बेनिशा हमाल र तेज गिरी अभिनित ‘प्रेमगन्ज’ले शुक्रबारदेखि प्रदर्शन सुरु गरेका हुन् ।

कोरोना महामारीपछि एकै दिन यति धेरै नेपाली सिनेमा रिलिज भएको यो पहिलो संयोग हो । यसअघि बढीमा दुई नेपाली सिनेमा प्रदर्शनमा आएका थिए ।

माइकल अधिकारी

रञ्‍जित रौनियारले निर्देशन गरेको सिनेमाले सेरोगेसी (भाडाको कोख)को कथा भन्छ । एक विपन्न दम्पतिले पैसाको जोहो गर्न मातृत्व विक्री गर्दा उनीहरुको जीवनमा आउने आरोह-अवरोह चित्रण गरिएको छ ।

सिनेमामा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । रिलिज अगाडी गरिएको प्रिमियरमा सिनेमाले तारिफ बटुलेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सिनेमालाई मनोरंजन, पृथकता र संदेशको समिश्रण भनेका थिए ।

प्रिमियरमा पाएको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित छ । गोपीकृष्ण मुभिजले निर्माण गरेको सिनेमामा अलावा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल र केभिन परियारलगायतको पनि अभिनय छ ।

कृष्णलीला 

म्युजिक भिडियोमा अत्याधिक व्यस्त रहने अभिनेता पुष्प खड्का ‘कृष्णलीला’ मार्फत तीन वर्षपछि ठुलो पर्दामा ब्याक भएका छन् । उनि अभिनित पछिल्लो सिनेमा ‘मारुनी’ थियो ।

‘कृष्णलीला’लाई पुष्पले काँधमा बोकेका छन् । उनलाई श्रद्धा क्षेत्रीले साथ दिएकी छन् । सिनेमामा पुष्प अटिजम प्रभावित युवकको भूमिकामा छन् । जसले सामान्य युवतीसंग प्रेमको सपना देख्दा आउने उतारचढाव सिनेमाले बोल्छ ।

दीपक ओली निर्देशित सिनेमामा पुष्प र श्रद्धासंगै बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

संचारकर्मी लक्ष्मण सुवेदीको लेखन रहेको सिनेमालाई रोहित कट्टेलले प्रस्तुत गरेका हुन् ।

प्रेमगन्ज 

परिच्छेद सेन निर्देशित सिनेमाले एक प्रेमजोडीको दुई पुस्ताको प्रेमकथा भन्छ । सिनेमामा बेनिषा हमाल र तेज गिरीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

रिलिज अगाडीको प्रिमियरमा सकारात्मक प्रतिक्रिया बटुलेको सिनेमामा बेनिषा र तेजसंगै सम्पदा बानियाँ, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का, आयुशी ढकाल, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सन्जोग रसाइली, पवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमामा किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी र निर्मला लामिछानेको निर्माण छ ।

यी तीन सिनेमासंगै दक्षिण भारतीय सिनेमा ‘कार्तिकेय २’पनि नेपाली बक्सअफिसमा रिलिज भएको छ ।