जुम्लामा ‘प्रकाश’को प्रिमियर गरिने, सम्पूर्ण गाउँ बासिलाई निमन्त्रणा

जुम्लामा ‘प्रकाश’को प्रिमियर गरिने, सम्पूर्ण गाउँ बासिलाई निमन्त्रणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘प्रकाश’को जुम्लामा प्रिमियर गरिने भएको छ ।

निर्माण पक्षले ५ गते जुम्ला जिल्लाको तिर्खु गाउँको मोक्ष माध्यमिक विद्यालयको प्रांगणमा प्रिमियर गर्न लागेको हो । सिनेमा हेर्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, व्यवसायी र सम्पूर्ण गाउँ बासीलाई निमन्त्रणा गरिएको छ ।

जुम्ला मै छायांकन भएकाले त्यहाँका बासिन्दालाई पहिलो दर्शकको रुपमा सिनेमा देखाउन लागिएको निर्देशक दिनेश राउतले बताए । ‘स्थानीय दर्शकहरु सिनेमा हेर्दा अपनत्व महसुस गर्छन वा गर्दैनन् ? सिनेमा यथार्थसंग नजिक छ/छैन भन्ने पत्ता लगाउन जुम्ला प्रिमियरको बारेमा निर्णय गरेका हौँ ।’ निर्देशक राउतले भने ।

प्रिमियरका लागि लेखक बिकास सुवेदीसहितको टिम शनिबार जुम्ला हानिनेछ । सोमबार राजधानीमा सिनेमाको विशेष शो आयोजना गरिनेछ । ८ गते भव्य प्रिमियरको सेड्युल तय गरिएको छ ।

शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्ने सिनेमामा अभिनेता प्रदीप खड्काले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

सिनेमामा प्रदीपसंगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

यो सिनेमालाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।