‘सम्हालिन्छ कहिले मन’पछि नेपाली सिनेमाको नयाँ युग सुरु हुन्छ – सुदर्शन थापा

‘सम्हालिन्छ कहिले मन’पछि नेपाली सिनेमाको नयाँ युग सुरु हुन्छ – सुदर्शन थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुदर्शन थापा नेपालमा हिट सिनेमाहरु दिने निर्देशकको सूचिमा पर्छन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’लगायत चर्चित रोमान्टिक सिनेमाहरु निर्देशन गरेर अब्बल निर्देशकको छवि बनाएका थापा निर्देशित मेगा बजेटको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ १७ भदौबाट प्रदर्शनमा आउँदैछ । यो सिनेमा प्रदर्शनमा आएपछि नेपाली सिनेमा नयाँ कोर्समा अघि बढ्ने थापाको दाबी छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादीत अंश :

 

सुगम पोखरेलले दुई दशकअघि नै गाएको चर्चित गीतको नाममा सिनेमा बनेको छ । कत्तिको न्याय भएको छ ?

पक्कै पनि ‘सम्हालिन्छ कहिले मन’ एउटा ब्रान्ड हो । जसमा मानिसहरुको अलग्गै भावना जोडिएको छ । हिजो गीतका रुपमा यसले प्रशंसा पायो र सबैको जिब्रोमा झुन्डियो । अहिले सिनेमाको ट्रेलर र यसमा समावेश गीतहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सिनेमा कस्तो होला भन्ने कौतुहलता धेरैमा रहेको पाएको छु । यस सिनेमालाई ठूलो क्यान्भासमा खिचिएको छ । देशकै नाम चलेका कलाकारहरु छन् । त्यसमाथि गायक सुगम पोखरेल सिनेमासंग जोडिनु भएकाले पनि दर्शकको अपेक्षा धेरै हुन गएको छ । उहाँहरुलाई भन्न चाहन्छु, त्यो ब्रान्ड अझै धेरैमाझ पुग्नेछ ।

यो सिनेमाले कस्तो कथा बोकेको छ ?

यो त्रिकोणात्मक प्रेमकथामा आधारित रोमान्टिक सिनेमा हो । तर यसको प्रस्तुती तपाईले निकै फरक पाउनुहुनेछ । सिनेमा भनेको कथामात्रै होइन । कथालाई गरिने ‘भिजुअल प्रेजेन्टेशन’ हो । त्यसैले य‍स सिनेमाको ‘प्रेजेन्टेशन’लाई दर्शकले निकै फरक पाउनुहुन्छ । यसमा आकाश श्रेष्ठ, पुजा शर्मा र सोनम तोप्देन मुख्य भूमिकामा हुनुहुन्छ । त्यस्तै, सरोज खनाल, धीरेन शाक्य, गौरी मल्लजस्ता दिग्गज कलाकारको पनि अभिनय छ । सिनेमालाई स्तरीय बनाउन हामीले मेकिङमा अति मेहिनत गरेका छौं । यसको ९५ प्रतिशत छायांकन बेलायतमा गरिएको छ । सिनेमाघर छिरिसकेपछि कथा बुझ्नुका साथै दर्शकले हाम्रो प्रस्तुती र मेकिङको मज्जा लिन सक्नुहुन्छ ।

पुरानो र नयाँ पुस्ताका एक से एक कलाकारहरुलाई पर्दामा उतार्दाको अनुभव कस्तो रह्यो ?

हामीले कलाकार छनोटसहित सिनेमाको सबै पक्षमा अत्याधिक मेहिनत गरेका छौं । सिनेमालाई राम्रो बनाउनका लागि सबैलाई राखेर पटक–पटक वर्कशप गरेका छौं । भारतका चर्चित कभर सिंगर सोनम तोप्देनलाई ल्याएर मुख्य भूमिका राख्यौं । आकाश, पुजा अहिलेका स्टार कलाकार हुन् । सरोज खनाल, धिरेन शाक्य र गौरी मल्लको स्टारडम दशकौंदेखि कायम छ । यति धेरै स्टार हुँदा हुँदै हामी किन नयाँ कलाकार खोज्न भारत नै गयौं ? किनकी हाम्रो कथाले यस्तै कलाकार मागेको थियो । हामीले कुनै कम्प्रमाइज गर्न चाहेनौं । शतप्रतिशत मेहिनत गर्नुपर्छ भन्ने मलाई लागेको थियो । किनकी, कुनै हालतमा बलिउडका हिट सिनेमाभन्दा हामी कम हुनु हुँदैन भन्नेमा स्पष्ट थियौं । अहिले ट्रेलर र गीतहरु रिलिज भएसँगै निकै उत्साहपूर्ण प्रतिक्रिया आएको छ । कतिपयले यसलाई हलिउड शैलिकै भनिरहनु भएको छ । यस्ता प्रतिक्रियाले हामी उत्साहित छौं ।

बेलायतमा गएर सिनेमा खिच्नु कत्तिको चुनौतिपूर्ण थियो ?

म तपाईलाई प्रश्न सोध्छु – चुनौति हुँदा हुँदै मानिस किन हिमाल चढ्छ त ? किनकी उचाईमा पुग्नुको मज्जा उसलाई थाहा हुन्छ । त्यस्तै, हामीले पनि जोखिम मोलेर नयाँ उचाईमा पुग्ने प्रयास गरेका हौँ । सिनेमा राम्रो बन्दा नेपाली सिनेमाको स्तर र बजारलाई एक कदममाथि उठाउन सकिन्छ भन्नेमा हामी विश्वस्त भएकाले हरेक चुनौति हाँसेरै पूरा गर्‍यौं । टिमलाई मानसिक रुपमा पनि त्यसरी नै तयार गरेको थिएँ ।

अहिले सार्वजनिक भएको ‘हराँए हराएँ’ बोलको गीतमा पुजा र आकाशको अभिनय हेर्नुभयो होला । त्यो गीत सुटिङ गर्दाको समय स्कटल्यान्डको तापक्रम माइनसमा थियो । जाडोले मुटु नै थर्थर काप्थ्यों । त्यसमाथि ४०–५० किलोमिटरको रफ्तारमा हावा चल्थ्यों । त्यतिबेला पातलो पहिरन लगाएर पहाडमा रोमान्टिक सिन दिन कलाकारलाई कति गाह्रो भयो होला । तर, यो पर्दाबाहिरको मेरो व्यक्तिगत अनुभवको कुरा भयो । भिडियोमा त्यस्तो केही महसुस भएको देखिन्न किनकी उहाँहरु आफ्नो काम शतप्रतिशत दिनुभएको छ । ९५ प्रतिशत सुटिङ बेलायतमा गर्न, ६५ दिनसम्म बेलायतका महँगा शहरमा ५० हजार सदस्यलाई राखेर सिनेमा खिच्न, दुबईका आलिसान भवनमा सुट गर्न, भारतबाट उत्कृष्टभन्दा उत्कृष्ट प्राविधिक बोलाएर काम गर्न, हरेक कुरा महँगै हुन आउँछ । तर हामीले ठूलो क्यान्भासमा केही गर्ने सोचेका थियौं । जो सफल भएको छ । म आफ्नो सम्पूर्ण टिमको मेहिनतबाट खुसी छु ।

लगानी र मेहिनत भव्य देखिन्छ, के नेपाल बजारले धान्न सक्छ ?

कोरोनाकालपछि हाम्रोमा रिलिज भएका अधिकांश सिनेमाले राम्रो प्रतिक्रिया पाइरहेका छैनन् । तर, यही समय हाम्रो बजारबाटै आरआरआर, पुष्पा, केजिएफलगायत दक्षिण भारतीय सिनेमाले ठूलो रकम लिएर गएका छन्, कन्टेन्ट त हाम्रा सिनेमाको पनि कमजोर होइन । तर हामी मेकिङ पक्षमा चुकेकाले दर्शक तान्न सकेनौं । अहिलेका मल्टिप्लेक्स हल पहिलेका सिंगल थियटरको दाँजोमा निकै स्तरीय भइसकेका छन् । यस तथ्यलाई ध्यानमा राखेर हामीले सिनेमा मेकिङ गर्नुको विकल्प छैन ।

पहिले, मानिसले ‘पिक्चर’मात्रै हेर्थे, त्यो पनि ठिक–ठिकै आउँथ्योंं । अहिले ‘पिक्चर क्वालिटी’ निकै हाई छ, साथै दर्शकले साउन्ड पनि फिल गर्न थालेका छन् । ठूलो घरमा, ठूलो मासले ठूलो पर्दामा सिनेमा हेर्ने हो । आजका दिनमा मल्टिप्लेक्समा ब्राड पिट, अमिर खान र अक्षयकुमारका सिनेमासँगै नेपाली सिनेमा पनि लागिरहेको हुन्छ । टिकट सबैको लगभग ३ सय रुपैयाँ नै पर्ने हो । अब नेपाली सिनेमा किन हेर्ने ? भन्ने प्रश्न त त्यहाँ आउँछ । त्यही प्रश्नलाई ध्यानमा राखेर हामीले यो सिनेमा बनाएका छौं । यसमा मेकअपम्यान, प्राविधिकदेखि कलाकारसम्म सबैले अलग ढंगले काम गरेका छन् । नेपाली सिनेमा इतिहासको अहिलेसम्मकै उत्कृष्ट मेकिङ यस सिनेमाको मुख्य विशेषता हो । त्यसैले मैले ठोकुवाका साथ भन्दै आएको छ, बलिउडका ए ग्रेडका सिनेमासँग हाम्रो सिनेमाले प्रतिस्पर्धा गर्नसक्छ । अब रह्यो, बजार बिस्तारको कुरा, हामीलाई आशा छ, नेपाल र विदेशमा ठूलो संख्यामा रहेका नेपालीभाषी, जो विगतमा नेपाली सिनेमा हेर्न आउँदैन थिए, उनीहरु यसपटक सम्हालिन्छ कहिले मन हेर्न आउनेछन् । हाम्रो बजार सानो होइन, सोच सानो हो । त्यहीकारण, हामीले धेरैलाई समेट्न सकेनौँ । त्यस कुरालाई यस सिनेमाले तोड्नेछ र नयाँ अडियन्सहरुलाई हलसम्म तान्ने छ ।

विगतमा विदेशी भूमिमा अन्य सिनेमापनि खिचिएका थिए ? त्यसमा र यसमा के फरक छ ?

अनुमति लिएर विदेशी भूमिमा खिचिएको यो पहिलो सिनेमा हो । अनुमति नलिई खिच्दा र अनुमति लिएर खिच्दाको फरक नै मुख्य हो, कुन स्केलमा खिचिएको छ भनेर तपाईले ट्रेलरमा हेरिसक्नु भएको छ । अनुमति नलिई खिच्दा हाम्रो मानसिकता केही न केही खुम्चिएको हुन्छ । तर, यसमा हामीले खुला रुपमा काम गरेका छौं । विदेशी भूमिमा ठूलो स्केलमा सिनेमा खिच्दाको हाम्रो अनुभव आगामी दिनमा बन्ने नेपाली सिनेमाहरुमा पनि काम आउनसक्छ । त्यसैले मैले भन्दै आएको छु, यो सिनेमा नेपाली सिनेमा मेकिङमा कोशेढुंगा साबित हुनेछ ।

निर्देशकका रुपमा मेकिङ पार्ट ठूलो कि कन्टेन्ट पार्ट ठूलो ?

कन्टेन्ट मात्र पनि सिनेमा होइन । स्क्रिप्ट पढ्नका लागि लेखिएको हो अर्थात् साहित्यकै स्वरुप हो । त्यो जब सिनेमा बन्छ, तब त्यो हेर्नका लागि बनाइन्छ । सिनेमा भनेको निर्देशकको ‘भिजुअल इम्याजिनेशन’ हो । त्यसैले यसमा कन्टेन्ट, लोकेशन, सिनेमाटोग्राफी, साउन्डलगायत सबै पक्ष पर्छन् । हामीले कन्टेन्टमात्रै भनिरहदाँ मेकिङ राम्रो गर्न सकेनौं भने त्यसको कुनै अर्थ रहदैँन । अहिलेलाई यत्ति भन्छु, यस सिनेमामा हामी सबै पक्षमा सुदृढ छौं । मलाई विश्वास छ: १७ भदौपछि तपाईले नै भन्नुहुनेछ, अब नेपाली फिल्ममा नयाँ युग शुरू भयो ।