यसरी ‘प्रकाश’ बन्न प्रेरित भए प्रदीप खड्का

यसरी ‘प्रकाश’ बन्न प्रेरित भए प्रदीप खड्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता प्रदीप खड्का यतिबेला फिल्मी करिअर कै सर्वाधिक चर्चामा छन् । उनि कुनै कन्ट्रोभर्सि र विवादका कारण नभएर कामको कारण चर्चामा आएका हुन् ।

सिनेमा ‘प्रकाश’मा निर्वाह गरेको शिर्ष चरित्र र ‘प्रेमगीत ३’लाई अन्तर्राष्ट्रिय रुपमा रिलिज गर्न खनेको बाटोले प्रदीप यतिबेला वाहवाहीका पात्र बनेका छन् ।

कोरोना अघिको माहोलमा प्रदीपको सिनेमा रिलिज हुँदा उनि अभिनयका कारण आलोचित बन्नु पर्थ्यो । समिक्षकहरुले गुदी नभएको कलाकार भन्दा उनि मनमनै प्रश्न गर्थ्ये, ‘मैले त शतप्रतिशत मिहेनत गरेकै थिएँ । तर समिक्षक किन यस्तो लेख्छन होला ?’

करिअरको सुरुवातमा प्रदीपलाई सिनेमा खेल्न पाउनु र स्क्रिनमा देखिनु नै ठुलो कुरा लाग्थ्यो । उनि भन्छन, ‘त्यतिबेला लिड अभिनेताको रुपमा काम गर्न पाउनु नै ठुलो कुरा लाग्थ्यो । त्यो भन्दा माथि सोचेकै थिएँन ।’

‘प्रेमगीत’ले चर्चाको शिखरमा पुर्याएपछि प्रदीपले पछाडी फर्केर हेर्नु परेन । उनि सिनेमा क्षेत्रको स्टार कहलिए । प्रदीपलाई लिएपछि सिनेमाले बक्सअफिसमा सफल उडान भर्छ भन्ने विश्वास स्थापित भयो ।

त्यसपछि प्रदीपलाई लगातार प्रेमकथानक सिनेमाको अफर आयो । दर्शकले लभरव्वाय मै रुचाएपछि प्रदीपले खास्सै सोचेनन् ।

तर, पछिल्लो समय समिक्षक र व्यक्ति विशेषबाट स्टार अभिनेता आलोचित बन्न थाले । प्रदीप भन्छन, ‘त्यतिबेला समाचार/समिक्षामा गुदी नभएको, प्याकेजिङ मात्र भएको कलाकार भन्ने खालका टिप्पणी आए । एउटा शिर्ष कलाकारले सिनेमा क्षेत्रलाई सहि बाटो देखाउनु पर्छ भन्ने व्यक्ति विशेषका सुझावहरु मैले मनन् गरेँ । त्यसपछि समाज रुपान्तरण सहयोग पुर्याउने खालका सिनेमा गर्नु पर्छ भन्ने सोच पलायो ।’

प्रदीपले थपे ‘कतै पूर्वाग्रह लिएर आउंथ्यो । कुनै प्रेरणा दिने खालको हुन्थ्यो । कुनै समिक्षा यसलाई सिध्याउछु भनेर लेखिन्थ्यो । जस्तो आयो त्यसलाई त्यसरी नै लिंदै गएँ ।’

समिक्षक/पत्रकारहरुको आलोचनालाई प्रदीप सकारात्मक रुपमा ग्रहण गर्छन । उनि भन्छन, ‘उहाँहरुलाई मबाट केहि आशा रहेछ । किनकि बुबा-आमाले सन्तानलाई राम्रो बाटोमा लागोस भनेरै गालि गर्ने हो ।’

‘प्रकाश’ अगाडीसम्म प्रदीपले सिनेमा सम्बन्धि कुनै औपचारिक शिक्षा लिएका थिएनन् । एउटा अभिनेताको प्रमुख धर्म भनेको अभिनयलाई जिवन्त तुल्याउनु हो । तर, प्रदीप छायांकन सेटमा अभिनय भन्दापनि व्यवस्थापन तर्फ ध्यान दिन्थ्ये ।

‘मैले बिबिए, एमबिए र मार्केटिङमा मास्टर गरेका कारण सेटमा व्यवस्थापनतिर झुकाव रहन्थ्यो । हाम्रो सिनेमा क्षेत्रमा त्यतिधेरै पूर्वाधार छैनन् । बजारपनि सानो छ । सिनेमा बनाउदा धेरै कुराको सम्झौता गर्नु पर्ने हुन्छ । म सेटमा पुगिसकेपछि व्यवस्थापनको पाटोलाई मजबुत बनाउन सहयोग गर्थ्ये । मलाई लाग्थ्यो जसोतसो सिनेमा बनाएर रिलिज गर्नुपर्छ ।’ प्रदीपले पुराना कुरा सम्झिए ।

पछिल्ला सिनेमा रिलिज हुँदा ‘जसले सिनेमा क्षेत्र काँधमा बोकेको छ, उ नै गम्भीर छैन ।’ भन्ने आरोप आएपछि प्रदीपले आफ्नो सोचमा परिवर्तन आएको बताउछन ।

‘त्यसपछि मैले अहिलेसम्म सिकेकै रहेनछु भन्ने लाग्यो । अभिनय के रहेछ त ? अभिनय कसरी गर्ने भन्ने कुरा सिक्न मन लाग्यो ।’ प्रदीपले आफुमा अभिनयप्रतिको महत्वकांक्षा बढ्दै गएको बताए ।

‘फुटबल खेलाडीले दैनिक अभ्यास गर्छ । गायकले दिन दिनै रियाज गर्छ । तर, अभिनेताको पगरी गुँथेर मैले के गरे त ?’ आफुले आफैलाई प्रश्न गरेँ । ‘अभिनय कक्षा लिएको छैन । नृत्य सिकेको छैन । फाइट खेल्न आउदैन । त्यतिबेला महसुस भयो कि मैले अभिनेताको रुपमा धेरै कुरा सिक्न बाँकी रहेछ ।’ अभिनय सिकिसकेपछि यसको महत्वबारे आफु अझ जानकार भएको प्रदीप बताउछन ।

दिनेश राउतको निर्देशन र बिकास सुवेदीको लेखन रहेको सिनेमा ‘प्रकाश’मा प्रदीप शिर्ष भूमिकामा छन् । उनि जुम्लेली युवकको चरित्रमा देखिएका छन् । प्राय: सिनेमामा चट्ट परेको लभरव्वाय बन्ने प्रदीपले ‘प्रकाश’मा कर्णालीको कथा काँधमा लिएका छन् ।

विकट गाउँको एक विपन्न परिवारको युवकले शिक्षक बन्न गनु पर्ने संघर्षको कथा बोकेको सिनेमामा प्रदीपसंगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको सिनेमा भदौ १० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।