जुम्लामा ‘प्रकाश’ प्रिमियर, स्थानीयले प्रदीपलाई भने ‘आफ्नै छोरा जस्तो लाग्यो’

जुम्लामा ‘प्रकाश’ प्रिमियर, स्थानीयले प्रदीपलाई भने ‘आफ्नै छोरा जस्तो लाग्यो’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – जुम्लामा सिनेमा ‘प्रकाश’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रिमियरमा गाउँ बासिको उल्लेख्य उपस्थिति रह्यो ।

प्राय: शहरका सुबिधा सम्पन्न हलमा रेड कार्पेट बिछ्याएर गरिने प्रिमियर ‘प्रकाश’ हकमा भने भिन्न रह्यो । तिर्खु गाउँमा कुनै हल छैन । नत बिजुली नै छ । प्रोजेक्टरमा सिनेमा देखाउन निर्माण पक्ष जेनेरेटर बोकेर प्रांगणमा पुगेको थियो । तिर्खु त्यहि गाउँ हो, जहाँ ४५ दिनसम्म ‘प्रकाश’को छायांकन भएको थियो ।

प्रिमियरमा सहभागी हुन् सिनेमाका मुख्य कलाकार प्रदीप खड्का र लेखक बिकास सुवेदीले काठमाडौँदेखि जुम्लासम्मको यात्रा तय गरेका थिए ।

प्रदीप र बिकासलाई स्थानीय बासिले गरेको स्वागत हेर्न लायक थियो । स्थानीय संस्कार अनुसार जुम्लेली समुदायले प्रदीप र बिकासको गलामा माला, निधारमा अबिर र शीरमा फेदा लगाइदिएका थिए ।

प्रिमियरपछि स्थानीयले सिनेमाको प्रशंसा गरे । आफ्नो ठाउँको कथा सिनेमामा हेर्न पाउँदा उनिहरु दंग थिए ।

जुम्लालाई टपक्क टिपेर सिनेमामा उतारेको, सिनेमा हेर्दा आफ्नै आमा-बुबा, छोराछोरीलाई पर्दामा महसुस गरेको र प्रदीपलाई आफ्नै छोरा जस्तो देखेको स्थानीयले प्रतिक्रिया दिए ।

जुम्लामा आफुले धेरै माया पाएको र ‘प्रकाश’ चरित्रमा आफ्नो छोरालाई देखे भन्ने खालका प्रतिक्रियाले आफ्नो कामले सार्थकता पाएको प्रदीपले बताए । ‘उहाँहरुले सिनेमामा अपनत्व महसुस गर्नु भयो । एक हदसम्म हामि सफल भयौँ ।’ प्रदीपले उत्साहित हुँदै भने ।

लेखक सुवेदीपनि स्थानीय प्रतिक्रियाले दंग थिए । ‘मैले जुन किसिमले सिनेमा लेखेको थिएँ । स्थानीयले पनि त्यहि अनुरुप प्रतिक्रिया दिनु भयो । सिनेमालाई लिएर उत्साहित छु ।’ सुवेदीले भने ।

‘प्रकाश’ हेरेपछि स्थानीयले सिनेमा एकदमै राम्रो बनेको र एक पटक जुम्लाको कथा हेरिदिन आग्रह गरे ।

दिनेश राउतले निर्देशन गरेको सिनेमाले एक विपन्न परिवारको युवकले शिक्षक बन्न गर्नु परेको संघर्षको कथा भन्छ ।

सिनेमामा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको पनि अभिनय छ ।

राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

महेन्द्र अधिकारीले निर्माण गरेको सिनेमा भदौ १० देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।