गोर्खालीको बहादुरी र मानवताको कथा विश्वले थाहा पाउनेछ – प्रदीप शाही

गोर्खालीको बहादुरी र मानवताको कथा विश्वले थाहा पाउनेछ – प्रदीप शाही

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘पासपोर्ट’, ‘वेटिङ, ‘सिम्बोल १’, ‘कन्फ्लिक्ट’ जस्ता सर्ट सिनेमा बनाएका प्रदीप शाहीले सिनेमा ‘गोर्खा: बिनिथ द ब्रेभरी’ निर्देशन मार्फत नेपाली सिनेमा क्षेत्रमा डेब्यु गर्दैछन् ।

सर्ट सिनेमाबाट बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेका प्रदीप ‘गोर्खा: बिनिथ द ब्रेभरी’ले नेपाललाई विश्वसामु पुर्याउनेमा विश्वस्त छन् ।

पहिलो विश्व युद्धका क्रममा मानवता देखाएर पहिलो भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा यो सिनेमा निर्माण भएको छ । निर्देशक प्रदीपका अनुसार यो सिनेमाले विश्वसामु नेपाली सैनिकहरुको बहादुरी र मानवताको कथा भन्नेछ ।

‘३६ घन्टाको पहिलो विश्वयुद्धमा कुलवीर थापाले कसरी भिक्टोरिया क्रस पाउनुभयो भन्ने कथामा सिनेमा बनेको छ । फिल्मले हामी गोर्खाली के हौं भनेर संसारलाई चिनाउनेछ ।’ सिनेमा रिलिजको लागि बेलायतबाट नेपाल आएका प्रदीपले भने ।

‘पहिलो विश्वयुद्धमा नेपाली गोर्खा सैनिकको के योगदान छ भन्ने कुरा कुलवीर थापाको माध्यमबाट भन्न खोजेका छौं । त्यसबेला गोर्खा सैनिकले कसरी मानवता देखाएका थिए भन्ने कुरा सिनेमामा छ । सिनेमाले हामी नेपाली मानवतापूर्ण पनि छौं भनेर चिनाउनेछ ।’ उनले थपे ।

यसअघि बेलायत र अमेरिका प्रदर्शनमा सकारात्मक प्रतिक्रिया पाएको सिनेमालाई नेपाली दर्शक मन पराउनेमा प्रदीप आशावादी देखिएका छन् ।

भदौ २४ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमामा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ ।

निर्देशक शाही कै कथा रहेको सिनेमामा निक्को प्रताप गुरुङ/अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, रविन श्रेष्ठको साउण्ड ट्रयाक र रुपेश गुरुङको सम्पादन छ ।

साई प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा विनोद सुवेदी खत्रीको कार्यकारी निर्माण, मघु गुरुङ र प्रयास गुरुङको निर्माण रहेको छ ।

कुलवीरले कसरी प्राप्त गरे भिक्टोरिया क्रस ?

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । सिनेमा यहि कथाको वरपर बनेको छ ।