दुई दशकपछि फेरि सुगमको ‘सम्हालिन्छ कहिले मन’

दुई दशकपछि फेरि सुगमको ‘सम्हालिन्छ कहिले मन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगमी भदौं १७ बाट प्रदर्शनमा आउने सिनेमा ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको शीर्ष गीत सार्वजनिक गरिएको हो ।

सुयश भट्टराईले लेखेको यस गीतमा गायक सुगम पोखरेलको स्वर छ भने शैलेन्द्र डि प्रधानले कम्पोज गरेका हुन् । यो गीत झन्डै दुई दशकअघि रिलिज भएको सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ कै रिमेक हो । बेलायतका विभिन्न सहरमा छायाँकन गरिएको सिनेमामा समावेश गीतको भिडियोले गीतको मर्मलाई उतारेको छ ।

‘सम्हालिन्छ कहिले मन’को ९५ प्रतिशत छायांकन बेलायतमा गरिएको जानकारी निर्माण पक्षले दिएको छ । मेकिङवाईज यो सिनेमा नेपाली सिनेमा इतिहासकै एक कोशेढुंगा साबित हुने दाबी निर्माण पक्षले गर्दै आएको छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापा, निर्माता अजितकुमार थापा, कलाकार पुजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देन लगायत उपस्थित थिए ।

गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक थापाले आफ्नो सिनेमा नेपालमा चलिरहेका सिनेमाभन्दा एक कदममाथि जानुपर्छ भन्ने लक्ष्य राखेर निर्माण गरिएको बताए । ‘हामीले चलिरहेको सिनेमाभन्दा एक स्टेप माथि जानुपर्छ भनेर यो सिनेमा खिचेका हौं । कोभिडअघि नै सिनेमा छायाँकन गरेका थियौं, आजको दिनमा आइपुग्दा हाम्रो त्यो प्रयास सार्थक भएको छ,’ उनले भने,‘हाम्रै देशमा चलेका विदेशी सिनेमा पनि हाई बजेट र मेकिङका छन् । सिनेमाले आफ्नै तरिकाको मेकिङलाई ध्यान दिनुपर्छ ।

 

आज हाम्रै सिनेमा हलमा साउथमा बनेका हेभी सिनेमा चलिरहेका छन् । हामी पनि आफ्नो लेभलबाट कति माथि जाने त ? यसरी सोचेर यो सिनेमा निर्माण गरेका हौं । हामी सम्पूर्ण टिमले सिनेमालाई के के चाहिन्छ, त्यसमा कम्प्रमाइज नगरी बनाएका छौं । हामीले लुकेर खिच्न नपरोस् भनेर अनुमति लिएरै बेलायतमा ठूलो क्यान्भासमा खिचेका छौं ।’

निर्माता अजितकुमार थापाले सिनेमाले आफूहरुले गरेको मेहनत १७ भदौमा सिनेमा प्रदर्शनमा आएपछि सबैलाई थाहा हुने बताए । ‘जति पनि मेहिनत गरेका छौं । १७ भदौमा सिनेमा हेरेपछि यो थाहा हुन्छ,’ उनले भने,‘ हामीले कुनै पनि ठाउँमा कुनै पनि कम्प्रमाइज गरेका छैनौं । यो एउटा मेगा प्रोजेक्ट नै हो । यसले नेपाली सिनेमालाई एक स्टेप माथि लैजान्छ ।’

निर्देशक थापाले लभस्टोरी भएपनि यस सिनेमाको प्रिजेन्टेशन फरक एंगलबाट गरिएको बताए । ‘लभस्टोरी भएपनि फरक एंगलबाट प्रिजेन्टेशन गरिएको छ , विदेशी भूमिमा खिचिएको छ, यसको मेकिङ र प्रिजेन्टेशनलाई मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने ।

अभिनेता आकाश श्रेष्ठले सम्हालिन्छ कहिले मनको सुटिङ उत्कृष्टभन्दा उत्कृष्ट गन्तव्यमा गरिएको बताए । ‘राम्रो मुभी बनेको छ । स्कटल्यान्ड, दुबईलगायत क्षेत्रमा सुट गरिएको छ,’ उनले भने,‘यो सिनेमाले नेपाली सिनेमालाई नयाँ स्थानमै लैजान्छ भन्ने आशा लागेको छ । सबैले सफल हुन्छ भन्ने लागेर नै काम गरेका हौं ।’

अभिनेत्री पुजा शर्माले सिनेमाका लागि सबैले अत्यधिक मेहिनत गरेको बताअँछिन् । ‘टिमवर्क कस्तो छ भन्ने सिनेमा हेरिसकेपछि थाहा हुन्छ,’ उनले भनिन्,‘यो नेपालकै उत्कृष्ट सिनेमा हो । मेगा सिनेमा हो, यसको कथाले दर्शकको मनलाई छुनेछ ।’

डेव्यु अभिनेता सोनाम तोप्देनले पनि सिनेमा राम्रो बनेको बताए । कभर गायक सोनामले यही सिनेमाबाट नेपाली सिनेमामा डेब्यु गरेका हुन् । डेव्यु सिनेमाका सार्वजनिक प्रचार सामाग्री दर्शकले मन पराएकाले पनि आगामी दिनमा आफुलाई काम गर्न सहज हुने अपेक्षा उनको छ । सिनेमामा सरोज खनाल, गौरी मल्ल, धिरेज शाक्य, मरिष्का पोखरेललगायतका कलाकारकको पनि अभिनय हेर्न सकिन्छ ।